कोरोना सङ्क्रमणबाट निको भई तीन दिनमा ३३ जना घर फर्किए

admin

काठमाडौं, ९ जेठ : कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट निको भई अस्पतालबाट घर फर्किनेको संख्यामा वृद्धि भइरहेको छ । तीन दिनमा ३३ जना सङ्क्रमित स्वस्थ भई घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार शुक्रबारमात्र नेपालगञ्जका २१ जना बिरामी एकैपटक सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । एकैपटक स्वस्थ भई फर्कनेमध्येको ठूलो हो । बुधबार कोशी अस्पतालमा आठ र बिहीबार चारजना काठमाडौंबाट कोरोनालाई पराजित गर्दै घर फर्किएका थिए ।

अहिलेसम्म ७० जना बिरामी पूर्णरुपमा निको भई घर फर्किसकेको सहप्रवक्ता डा. अधिकारीले बताए । उनका अनुसार सङ्क्रमितको अस्पताल बसाइ औषत २० दिन ८ घण्टा रहेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचारपश्चात् घर फर्किएका मध्ये नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज-८ जोलाहनपुरका २० जना रहेका छन् ।

बिहीबार काठमाडौंकी ३३ वर्षीया महिला, पर्साका ३७ वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीया पुरुष टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट नौ दिनमा घर फर्किएका थिए ।

बुधबार कोशी अस्पतालमा उपचार गराइरहेका उदयपुरका आठजना घर फर्किएका थिए । चीनको वुहानबाट आएका पहिलो सङ्क्रमित २२ दिन अस्पतालमा उपचार गराएर सञ्चो भएका थिए । गत माघ ९ गते सङ्क्रमण देखिएका उनी गत फागुन ३ गते घर फर्किएका थिए ।

यसैगरी दोस्रो सङ्क्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ २७ दिन उपचारपश्चात् घर फर्किएकी हुन् । गत चैत १० गते सङ्क्रमण देखिएकी उनीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले सङ्क्रमितमा दुई किसिमले पूर्णरुपमा स्वस्थ अवस्थामा घर फर्किने बताए । उनका अनुसार पहिलो ४८ घण्टामा दुईपटक कोभिड-१९ नेगेटिभ रिपोर्ट आएपछि र अर्को क्लिनिकल्लीरुपमा सङ्क्रमितमा कुनै समस्या नभएपछि मात्र घर फर्किइने छ ।

“सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भनेर सङ्क्रमितलाई आइसोलेशनमा राखिन्छ”, उनले भने, “कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएपछि सङ्क्रमित पूर्णरुपमा स्वस्थ भएको हुन्छ ।”

उनका अनुसार खोकी, स्वासप्रस्वासमा समस्या नआउने, ज्वरो, थकाई नलाग्ने, पेट नदुख्नेजस्ता समस्या पूर्णरुपमा निको भएपछि सङ्क्रमितको कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट आएपछि मात्र घर फर्किइने छ ।

घर फर्किएपछि पनि सङ्क्रमितमा फेरि पनि सङ्क्रमण बल्झिने खतरा भएकाले घरमा एक्लै बस्नुपर्ने हुन्छ । उनले पूर्णरुपमा निको भई घर फर्किएपछि १४ दिनमा पुनः कोभिड-१९ परीक्षण गरिने बताए ।

“अहिलेसम्म हामीले बिरामीको लक्ष्यणका आधारमा औषधि चलाएका छौँ । गम्भीर औषधि चलाउनुपरेको छैन”, उनले भने, “ज्वरो, रुघाखोकी, पेट दुख्ने सामान्य प्रकारको औषधिबाट सङ्क्रमित निको भएका छन् ।” हालसम्म ४८७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया