प्रदेश नं १ मा ४० हजार बढीको पिसिआर परीक्षण हुने

राष्ट्रिय समाचार समिति

विराटनगर, ९ जेठ : प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृतसमेत गरेको छ ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड–१९ सङ्क्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले जानकारी दिनुभयो । स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाको वर्गीकरणसमेत गरेको छ ।

उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा एक प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कूल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो ।

कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताको समेत वृद्धि गरिने भएको छ । यसकालागि कोशी कोभिड अस्पतालमा १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २००, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३००, कृष्णदास आश्रम बराहश्रेत्र २०० र नेपाली सेना इटहरीमा ५० गरी थप ८५० बेड थपिने भएका छन् ।

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्र्ने संयुक्त कार्ययोजनासमेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ र सुनसरीमा होल्डिङ एरिया पहिचान गरी निर्माणसमेत थालिएको छ ।

होल्डिङ एरियामा १५ हजार बेड सङ्ख्या बन्ने भएका छन् । इलाममा दुई हजार, झापामा चार हजार, मोरङमा पाँच हजार र सुनसरीमा चार हजार बेड तयार हुन थालेका छन् ।

प्रतिक्रिया