हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको उपचारका क्रममा मृत्यु

admin

खाँदबारी, १० जेठ : थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका-६ की गङ्गा कार्कीको मृत्यु भएको छ ।

उपचारका क्रममा काठमाडौंस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौं लगिएको थियो । उनीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह लगिएको थियो ।

सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रुपमा रहेको छ । उनीलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले रु दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनीलाई घर फर्काएको थियो ।

प्रतिक्रिया