पाँचखाल बृहत् खानेपानीको ठेक्का : नेपाली र चिनियाँ कम्पनी छनौट

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, १७ जेठ : पाँचखाल नगरपालिकामा सञ्चालन हुने सुनकोशी-पाँचखाल बृहत् खानेपानी आयोजनाको ठेक्काका लागि नेपाली र चिनियाँ कम्पनीलाई छनोट गरिएको छ । आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेको जनाइएको छ ।

आयोजनाका लागि नौ निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । नौमध्ये नेपाली कम्पनी कन्काइ विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) छनोट गरिएको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए ।

उनले प्राविधिक र आर्थिक मूल्याङ्कनपछि ज्वाइन्ट भेन्चर कम्पनी छनोट गरी आयोजनाको ठेक्का सम्झौता प्रक्रियामा रहेकोसमेत जानकारी दिए । श्रेष्ठका अनुसार सम्भवतः छनोट कम्पनीको स्वीकृतका लागि भोलि एशियाली विकास बैंक (एडिबी)को मुख्यालय फिलिपिन्सको मनिला पठाइनेछ ।

“एडिबी मुख्यालयको अध्ययनपछि नै निर्माण कम्पनी छनोट भएकाले उसले कम्पनीको स्वीकृत गरेपछि आयोजनाको ठेक्का सम्झौता हुनेछ”, श्रेष्ठले भने । प्राविधिक र आर्थिक मल्याङ्कनपछि सार्वजनिक खरिद ऐनअनुसार कम लागतमा निर्माण सक्ने प्रस्तावक नेपाली कन्काइ र चिनियाँ हुवाछे ज्वाइन्ट कम्पनीलाई छनोट गरिएको आयोजनाले जनाएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना संक्रमणको उच्च जोखिमका कारण परियोजनाको प्रक्रिया लम्बिएको हो । परियोजनाको २०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

सम्झौताका अढाइ वर्षमा आयोजनाको काम सक्ने जनाइए पनि अब समयावधि लम्बिने देखिएको छ । आयोजनाका अनुसार आउँदो जुन महिनाभित्र निर्माणको काम शुरु भइसक्ने श्रेष्ठले बताए । उनले कोरोना संक्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनीसँग सम्झौतालगत्तै निर्माणका काम अघि बढ्ने बताए ।

आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाइ बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । श्रेष्ठका अनुसार आयोजनाअन्तन्र्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल-सुनकोशी-पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो ।

नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् ।

जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका छन् । एडिबीले निर्माण कम्पनी स्वीकृत गरेपछि खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइने पूर्वमन्त्री बाँस्कोटाले बताए ।

“एडिबीले ठकेदार कम्पनीका स्वीकृतपछि सम्झौतालगत्तै खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइनेछ”, उनले भने । उनले निरन्तर निर्माणले लक्ष्यअनुसारको समयसीमासम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा लिइएको बताए । उनले भने, “निर्माणमा आवश्यक जनशक्ति परिचालन गरिनेछ, लक्ष्यअनुसारको समयमै पाँचखालका बासिन्दालाई खानेपानी उपलब्ध गराइनेछ ।”

खानेपानीका लागि भुम्लु गाउँपालिका-१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्‍याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

प्रतिक्रिया