कोरोनाबाट वाग्मती प्रदेशमा ३ जनाको मृत्यु

admin

हेटौँडा, २४ जेठ : कोरोना भाइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक-एकजनाको ज्यान गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना विभाग हेर्ने डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

उनका अनुसार प्रदेशका १३ जिल्लामध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौंमा सबैभन्दा धेरै २३ जनामा संक्रमण पुष्टि भएको छ भने रामेछापमा १९, चितवन, काभ्रे र मकवानपुरमा ६-६, भक्तपुरमा पाँच, धादिङ र सिन्धुलीमा चार-चार, ललितपुर र नुवाकोटमा तीन-तीन, सिन्धुपाल्चोक र दोलखामा दुई-दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार वाग्मती प्रदेशका विभिन्न स्थानमा आठ हजार ११६ वटा क्वारेन्टिन श्यया रहेका छन् भने तीन हजार १०० जना क्वारेन्टिनमा रहेका छन् । यस्तै झण्डै ५०० जना होम क्वारेन्टिनमा रहेका छन् । प्रदेशमा रहेका एक हजार छ वटा आइसोलेशन श्ययामा हाल ४४ जनालाई राखिएको छ ।

प्रदेशमा १० हजार १०३ जनाको पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परीक्षण गरिएको छ । प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका ८३ जनामध्ये प्रदेश सरकारले सञ्चालन गरेको ल्याबबाट १५ जना र सङ्घीय सरकारद्वारा सञ्चालित ल्याबबाट ६८ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेशमा भएको २६ हजार ७६३ जनाको आरडिटी परीक्षणमा ५२५ जनामा एन्टिबडी पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया