डेंगु सार्ने लामखुट्टेको सर्भे शुरू, बेनीबजार डेंगुको उच्च जोखिममा

admin

गलेश्वर, २५ जेठ : म्याग्दीमा लामखुट्टेको टोकाइबाट संक्रमण फैलिने डेंगुको उच्च जोखिममा परेपछि संक्रमति भेटिएका क्षेत्रमा डेंगु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ ।

पछिल्लो दुई महिनामा देशभरमा सबैभन्दा धेरै संक्रमित भएको जिल्लामा रुपन्देहीपछि दोस्रोमा म्याग्दी परेपछि स्वास्थ्य कार्यालयको सक्रियतामा बेनी नगरपालिका र मंगला गाउँपालिकामा डेंगु सार्ने एडिस जातको लामखुट्टेबारे सर्भे शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

“बेनीबजारमा डेंगु सार्ने लामखुट्टे अत्यधिक भेटियो, बेनी डेंगु संक्रमणको उच्च जोखिममा छ” लम्सालले भने । स्वास्थ्य कार्यालय बागलुङमा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक याम बरालको उपस्थितिमा भइरहेको सर्भेमा बेनीबजारका ग्यारेजमा रहेका टायर, सार्वजनिकस्थान, चौतारीलगायत विभिन्न स्थानमा गरिएको स्थलगत सर्भेमा डेंगु सार्ने एडिस जातको लामखुट्टेका भण्डार नै भेटिएको थियो ।

त्यस्तै मंगला गाउँपालिकको केन्द्र बावियाचौरमा समेत डेंगु सार्ने लामखुट्टे भेटिए पनि संक्रमति भेटिएको गाउँपालिकाका केही स्थानमा भने सर्भेमा नदेखिएको सर्भे टोलीले जनाएको छ । यस वर्ष बेनी नगरपालिका र मंगला गाउँपालिकामा डेंगुका संक्रमित भेटिएका छन् ।

सर्भे टोली संक्रमित भेटिएका वडाहरुमा नै पुग्ने जनाइएको छ । टोलीले सर्भेपछि थप योजनासहित डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्ने जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पहिलो तथ्याङ्कअनुसार बैशाख र जेठ महिनामा देशैभरि ८३ जनामा डेंगु संक्रमण भेटिएकामा सबैभन्दा धेरै रुपन्देहीमा १५ र म्याग्दीमा १२ मा डेंगु पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया