अधिकांश स्थानमा बदलीसहित वर्षा, यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने

admin

काठमाडौं, २६ जेठ : सोमबार देशको अधिकांश भू-भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ । “अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो”, मौसमविद् बासीले भनिन् ।

नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ । मनसुन शुरु हुनुपूर्व जुन किसिमको वातावरण हुनपर्ने हो त्यो बनिसकेको छैन ।

मौसमविद्का अनुसार मनसुन भित्रिनका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा प्रष्टसँग देखिनपर्ने हुन्छ । यसका साथै न्यून चापीय क्षेत्रको विकास भएर न्युन चापीय रेखा नेपालतिर परेको हुनुपर्छ ।

हाल देशको वाग्मती प्रदेश, गण्डकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको तथा प्रदेश १ र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा प्रदेश २ र प्रदेश ५ र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भू-भागमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

सोमबार सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया