देशभर मल अभाव

admin

काठमाडौं, २९ जेठ : सरकारले कोरोना भाइरस संक्रमणको बहाना झिकेर यो वर्ष देशभरका किसानलाई युरिया मलको चरम अभाव व्यहोर्न बाध्य बनाएको छ। आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ।

कुनै न कुनै बहानामा युरिया मलका लागि बर्सेनि सास्ती व्यहोर्न बाध्य हुँदै आएका किसान यस वर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनको मारमा छन्। कृषि तथा पशुपक्षी मन्त्रालयसँगै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र पब्लिक प्राइभेट पार्टनरसिपअन्तर्गतको साल्ट ट्रेडिङ कर्पोरेसनले समेत कोरोना (कोभिड १९) भाइरसको संक्रमण र लकडाउनका कारण चाहेर पनि बर्खे धानबालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकिने जनाएको छ।

कृषि सामग्री र साल्टले कोरोना (कोभिड १९) भाइरसको संक्रमण र लकडाउनका कारण समयमा युरिया मल आपूर्ति नहुँदा किसानले युरिया मलका लागि सास्ती व्यहोर्नुपर्ने बताएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले कोरोना (कोभिड १९) भाइरसका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड, अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा नआउँदा किसानले चर्को अभाव व्यहोर्न पर्ने बताए।

‘साल्टको २१ हजार ५ सय टन युरिया समयमा नआए किसानले ठूलो अभाव व्यहोर्न सक्ने सम्भावना छ,’ प्रवक्ता केसीले भने, ‘उक्त मल झिकाउन भारतीय दूतावासलाई पत्राचार पनि गरेका छौं। तर, कोरोना संक्रमण र लकडाउनका कारण यो मल आउन त्यति सहज देखिएको छैन। ’

कोरोना भाइरसको संक्रमण र लकडाउनलाई कारण बताउँदै मन्त्रालय पनि आफ्नो जिम्मेबारीबाट पन्छिएको छ। युरिया मलको अभाव हुन नदिन र किसानको गर्जो टार्न मन्त्रालयले हालसम्म कुनै पनि वैकल्पिक व्यवस्थाको विषयमा छिनोफानो गरेको छैन।

समयमा पर्याप्त बजेट निकासा नहुनु र बजेट निकासा भए पनि समयमै कार्ययोजना बनाएर पारदर्शी रूपमा मल खरिद प्रणाली अघि नबढाइँदा नेपाली किसानले बर्सेनि रासायनिक मलको चर्को अभाव व्यहोर्न बाध्य छन्। कृषि सामग्रीले जानाजान बर्सेनि मलको चर्को अभाव सिर्जना गरी मोटो कमिसनका लागि सरकारद्वारा (जीटुजी) प्रणालीअन्तर्गत भारतसँग मल खरिद गर्दै आएको छ।

यस वर्ष किसानले धानबालीसँगै अहिले सुरु भएको मकै गोड्ने समयमा पनि युरिया मलको चर्को अभाव व्यहोर्न थालेका छन्। कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेसनसँग भएको युरियाको मौज्दात पनि करिब सकिएको छ। राजेश बर्माले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया