युवाहरु सडकमा : सांसद गिरीलाई जहाँ भेट्यो त्यही कालोमसो दल्ने घोषणा

अस्मिता बेल्बासे

काठमाडौं, २९ जेठ : जनता समाजवादी पार्टी (जसपा) की नेतृ सरिता गिरीमाथि सुरक्षा खतरा बढेको छ । युवाहरुको एक समूहले बुधबार नारबाजी गर्दै उनको घरमा कालो झण्डा गाडेको थियो ।

उनीहरुले उक्त झण्डा विरोध स्वरुप राखेको भन्दै अब गिरीलाई जहाँ भेट्यो त्यहि कालोमसो दल्ने घोषणा समेत गरे । उनीहरुले देशप्रति गद्धार गर्ने जो कोहीलाई बाँकी नराखिने र जे मन लाग्यो त्यो बोल्नेलाई जुन सुकै पार्टीको नेता भए पति ठिन पार्ने चेतावनी दिए ।

उनीहरुले विशालनगरस्थित गिरी निवास अगाडि सरिता गिरी मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद, नेपाली एकता जिन्दावाद, नेपाली जनता जिन्दावाद जस्ता नारा लगाउँदै उनको मुख्य ढोकामा लात्ती प्रहार गरेका थिए ।

उनको ढोकामा राखिएको कालो झण्डा भने घटनालगत्तै पुगेको प्रहरीले निकालेको थियो । सांसद गिरीले भारत सरकारलाई नसोधी नेपालले नयाँ नक्सा जारी गरेको भन्दै संसदमा विरोध जनाएपछि उनी विवादमा तानिएकी थिइन् ।

त्यसपछि पनि उनले एक अन्तवार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भुभाग नभएको बताएपछि उनी थप विवादमा तानिएकी हुन् । प्रत्येक नेपालीले सामाजिक सञ्जाल र सडकमा समेत उनको विरोध गरिरहेकै बेला बुधबार उनले पुनः बिना स्रोत र प्रमाण नेपालले नक्सा जारी गरेको भन्दै संसदमा निशान छाप परिवर्तन सम्वन्धि संविधान संशोधन विद्येयक खारेज गर्न माग गर्दै सूचना दर्ता गरेपछि युवाहरुको जमात उनीमाथि खनिएको हो ।

यसअघि नै सत्तारुढ दल निकट युवा संघ नेपाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पदीय मर्यादा विपरित बोलेको भन्दै कारबाही गर्न सार्वजनिक विज्ञप्ति नै जारी गरिसकेका छन् ।

गिरीले मुलुकप्रति गद्धार गरेको भन्दै देश निकाला गर्नुपर्ने माग उठिरहेको छ । योसँगै सांसद गिरीमाथि सुरक्षा खतरा बढेको काठमाडौं प्रहरीको निष्कर्ष छ । त्यसो त, उनी आवद्ध दल जसपाले संसद सचिवालयबाट संशोधन विद्येयक खारेज गर्न दर्ता भएको सूचना फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

यद्यपि गिरीले आफ्नो अडान परिवर्तन नगर्ने र कारबाही भोग्न तयार रहेको प्रतिक्रिया बाहिरिएको छ । जसपाले भने उक्त संशोधन विद्येयकलाई समर्थन गरिसकेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् !

प्रतिक्रिया