सरकारी कर्मचारीलाई तलब खान समस्या: धान्न मुस्किल, खर्च अत्यधिक

admin

काठमाडौं, ३० जेठ : लामो समयदेखि जारी बन्दाबन्दी (लकडाउन)ले राजस्व संकलनमा आएको संकुचन र साधारण खर्चमा भएको उच्च वृद्धिका बाबजुद पनि सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ६० अर्ब ८० करोड ६९ लाख ९६ हजार ७ सय ६१ रुपैयाँ आम्दानी गरेको छ । आम्दानी गत २६ जेठसम्मको भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले गत २६ जेठसम्म ८ खर्ब ३९ अर्ब ८१ करोड ३२ लाख ५५ हजार ३ सय रुपैयाँ कुल खर्च गरेको छ । सोही अवधिमा २० अर्ब ९९ करोड ३७ लाख ४० हजार रुपैयाँ बचतमा रहेको महालेखा नियन्त्रण कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले जानकारी दिए । उनले लकडाउनकै कारण विगतका वर्षमा जस्तो अहिले विकास खर्च र राजस्व संकलन नभए पनि मुलुकको सरकारी खर्च समान्य अवस्थामा नै रहेको बताए ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले गत ११ चैतदेखि निरन्तर जारी राखेको लकडाउनदेखि अहिलेसम्म मुलुकभरको सम्पूर्ण आर्थिक गतिविधिमा अवरोध पुगेको छ भने व्यापार व्यवसाय ठप्प छन् । जसका कारण अहिले सरकारी राजस्व खाता घटेको छ ।

आर्थिक कारोबार ठप्प भएकाले विगतका वर्षमा जस्तो चालु आर्थिक वर्षको असार मसान्त समाप्त हुने समय नजिकिने बेलामा समेत मुलुकको राजस्व उठ्न सकेको छैन । अहिले राजस्वको तुलनमा खर्च अत्यधिक बढी छ ।

राजस्वको तुलनामा चालु खर्च एवं प्रशासनिक खर्च बढी भए त्यसलाई राजस्व खाता घाटा भनिन्छ । अहिले राजस्व खाता घाटा उन्मुख हुँदै गएको देखिन्छ । किनकि लकडाउनअघि राजस्व खाता १ खर्बभन्दा बढीले बचत रहेकामा अहिले त्यो खुम्चिएर जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार मंगलबार सरकारले जम्मा १ अर्ब ६६ करोड २० लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । सरकारले विभिन्न शीर्षकमा गरी सो राजस्व संकलन गरेको हो । तर, खर्च भने सोही दिनमा ६ अर्ब ३६ करोड ३८ लाख रुपैयाँले बढेको थियो । मंगलबार संकलन भएको राजस्व र खर्च विवरणका आधारमा ४ अर्ब ७ करोड १८ लाख रुपैयाँ घाटा भएको हो ।

यसरी हेर्दा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिन्छ । पछिल्लो समय कोरोना संक्रमण बढेका कारण खर्च गर्ने ठाउँ बढेका छन् । जसले पनि चालु खर्च बढाएको छ । सरकारी ढुकुटी अहिले बजेटमा समावेश कार्यक्रमबाहेक कोरोना भाइरसको संक्रमण रोकथाममा खर्च भइरहेको छ । संक्रमण परीक्षणमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको भत्ता शतप्रतिशतसम्म बढाइएको छ । सामान्यतः राजस्वले चालु खर्च धान्नैपर्छ । तर, सरकारले अनावश्यक कार्यक्रममा खर्च कटौती नगरेकाले अहिलेको राजस्वले चालु खर्च धान्न मुस्किल पर्ने देखिन्छ ।

अनावश्यक खर्च कटौतीमा देखिएको बेवास्ताले अब सरकार आर्थिक संकटमा फस्न लागेको सम्बन्धित अर्थविद् एवं सरोकारवालाको भनाइ छ । अर्थविद्हरू सरकारले अब अर्थ व्यवस्था थेग्नका लागि मात्रै पनि अप्रिय निर्णय गर्नुपर्ने बताउँछन् । सरकारको राजस्वभन्दा चालु खर्च बढ्ने हो भने आगामी दिनमा कर्मचारीलाई खुवाउने तलब नै अपुग हुन सक्ने उनीहरूको दाबी छ ।

मुलक विकास निर्माणका लागि वैदेशिक ऋण तथा सहायतामा भर परे पनि चालु खर्चका लागि विदेशी ऋणमा भरपर्नु राम्रंो होइन । अन्य मुलुक पनि संकटमा परेकाले वैदेशिक ऋण पनि अत्यन्त कम मात्रै जुट्छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया