विद्यार्थी भन्छन्, मेहनत गरेको थिए, अधुरै रह्यो ‘एसइई’ दिने धोको

admin

चिप्लेढुङ्गा, ३० जेठ : “सेन्ट अपमा भन्दा राम्रो अङ्क ल्याइ माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने तयारी गरेका विद्यार्थी, तर धोको पूरा नै भएन”, यसपटक एसइई परीक्षा नहुने भएपछि नमज्जा लागेको विद्यार्थी बताउँछन् ।

पोखरा-६ गौरीघाटमा देव भुजेल भन्छन् “एसइईलाई अलि मेहनत गरेको थिए, परीक्षा दिइहाल्न पाएको भए हुने थियो, कारोनाका कारण रोकियो, तैपनि हुन्छ कि भन्दै कुर्दै बस्दा बस्दा अहिले त स्थगित नै भयो, सानैदेखि सुनेको ‘आइरन गेट’लाई उत्कृष्ट नतिजासहित पार गर्ने धोको पूरा भएन ।” नेशनल इन्भेन्टिभ बोर्डिङ स्कूलमा अध्ययरत उनले भने, “हामी ‘अनलक्की’ रहेछौं, हाम्रै पालामा रोकियो, अब प्लस टुको अध्ययनबाट राम्रो गर्छु ।”

पोखरा-१७ पार्दीस्थित फिष्टेल बोर्डिङबाट सो परीक्षा दिन तयार रहेकी सदीक्षा आचार्यले आफूले सोचे जस्तो भएन भनेर दुःखी हुन नहुने तर्क गर्छिन् । उनी कक्षाका प्रथम छात्रा हुन् । उनी चार जिपिए ल्याउने तयारीका साथ अध्ययनमा जुटे पनि अहिलेको अवस्थामा स्वास्थ्यभन्दा विद्या ठूलो भनेर चिन्तित हुन नहुने बुझाइ छ ।

उनी भन्छिन्, “जुनसुकै विद्यार्थीका लागि एसइई महत्वपूर्ण खुट्किलो हो, सबैलाई उत्कृष्ट नतिजा ल्याएर यो पार गर्ने रहर हुन्छ, तर परिस्थिति हामीले सोचे जस्तो भएन, हामीसँग भएको ज्ञान कतै जाँदैन, कक्षा १० मा हामीले परीक्षा दिइसकेका छौँ । जीवन रहे पढ्ने अवसर कहिल्यै रोकिँदैन ।”

शिशुनिकेतनमा अध्ययनरत प्रज्जवल आचार्य उत्कृष्ट नम्बरसहित ‘आइरन गेट’ मानिने परीक्षा दिने तरखरमा थिए । तर सोचे जस्तो भएन । उनी भन्छन् “धेरै मेहनतका साथ एसइईको तयारीमा जुटेको थिएँ, एक्कासि स्थगितभन्दा नरमाइलो लाग्यो । पढेको ज्ञान त कतै जाँदैन तर एसइई दिन नपाएको धोको भने सधैँ रहने भयो । ” उनले १० कक्षाको परीक्षालाई भन्दा एसइईको परीक्षाका लागि धेरै मेहनत गरेको बताए । कोरोनाको महामारीमा सरकारले गरेको निर्णय ठिकै भएको उनको प्रतिक्रिया छ ।

कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखे अन्तिम अवस्थामा परीक्षा स्थगित गर्नुको विकल्प नभएको भन्दै यसलाई सहजरुपमा लिनुपर्ने बताउँछन् । “सरकारले चैत ६ गतेदेखि परीक्षा लिएको भए हुने थियो, एकदिन अघिमात्रै परीक्षा रोकेको जानकारी गराउँदा धेरै विद्यार्थीलाई असर पर्‍यो, पढाइ विद्यार्थीसँग प्रत्यक्ष जोडिएको विषय हो, यसले उनीहरुमा पर्न सक्ने असरका बारेमा सरकारले बेलैमा सोच्न सक्नुपथ्र्यो, निकै ढिला गर्‍यो, अहिले तीन महिनापछि भएको निर्णय स्वीकार्नुको विकल्प छैन ।” वार्षिकरुपमा ग्रेडिङ प्रणालीबाट हुने मूल्याङ्कनले विद्यार्थीको सही मूल्याङ्कन हुन नसक्ने उनको भनाइ छ ।

अभिभावक शिवराज आचार्यले अहिलेको अवस्थामा सरकारले गरेको निर्णय जायज भएको प्रतिक्रिया दिए । “यो अवस्थामा सरकारले जे गर्‍यो ठीक गर्‍यो बच्चाहरुलाई पनि अभिभावकले सम्झाउनुपर्छ, उनीहरुलाई निरास हुन दिनुहुँदैन ।”

सरकारले चैत ६ गतेबाट हुने भनिएको परीक्षा कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै चैत ५ गते स्थगित गरेको थियो । बन्दाबन्दीका कारण परीक्षा अनिश्चित बन्दै जाँदा यही जेठ २८ गते बुधबार मन्त्रिपरिषद्को निर्णयले यो वर्षको एसइई नगर्ने र आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने निर्णय गरेको हो ।

यसपटक सो परीक्षामा देशभर चार लाख ८२ हजार विद्यार्थी एसइई तयारीमा थिए । ती मध्ये यहाँका १० हजार ८४० परीक्षार्थी रहेका थिए ।

प्रतिक्रिया