कर्णालीमा दिनहुँ बढ्दै, संक्रमितको संख्या ९१६ पुग्यो

admin

सुर्खेत, ३१ जेठ : कर्णालीमा कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ । शनिबार मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत र दैलेख गरी नयाँ थपिएका ७० गरी हालसम्म कर्णालीमा ९१६ जनामा संक्रमण देखिएको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाका १२, भेरीगङ्गा नगरपालिका १०, बराहताल गाउँपालिकाका नौ, चौकुने गाउँपालिकाका आठ र वीरेन्द्रनगर नगरपालिकाका एक जनामा शनिबार कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यस्तै दैलेख आठबिस नगरपालिकाका २०, नौमुले गाउँपालिकाका नौ र डुङ्गेश्वर गाउँपालिकाका एक जनामा संक्रमण देखिएको महाशाखा प्रमुख डा. तिवारीले बताए । सबैको कोरोना पुष्टि प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको जनाइएको छ ।

त्यसैगरी शनिबार दैलेख अस्पतालबाट पाँच र दुल्लु अस्पतालबाट चार गरी नौ जना निको भई घर फर्केका छन् । कर्णालीमा कोरोना जितेर घर फर्कनेको संख्या ९१ पुगेको र हालसम्म कोभिड-१९ को संक्रमण पुष्टि भएकामध्ये मृत्यु हुनेको संख्या तीन रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

प्रतिक्रिया