भारतमा एकै दिन झण्डै १२ हजार संक्रमित, ९ हजारभन्दा बढीको मृत्यु

admin

काठमाडौं, ३२ जेठ : भारतमा कोरोनाभाइरसको महामारीबाट संक्रमितहरुको संख्या हरेक दिन बढ्दै गइरहेको छ ।

दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा पछिल्लो दिन बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोनाभाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ ।

देशभरी कुल संक्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना संक्रमण मुक्त भएका छन् । सबैभन्दा धेरै संक्रमित रहेको महाराष्ट्र प्रदेशमा मात्रै एक लाख चार हजार ५६८ जना संक्रमित भएका छन् ।

त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४२ हजार ६८७ जना र तेस्रो धेरै सङ्क्रमित रहेको दिल्ली प्रदेशमा ३८ हजार ९५८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया