भरतपुर अस्पतालमा संक्रमित र अन्यको आवतजावत गर्ने प्रवेशद्वार अलग बनाइयो

admin

चितवन, १ असार : सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वार र बाटो अलग गरिएको छ ।

अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार संक्रमितलाई अस्पतालको ‘ए’ ब्लकको भुईंतलामा पछाडिबाट बाटो खोलेर राखिएको छ ।

सो स्थानमा जानका लागि स्वास्थ्य कार्यालयको मूल गेटतर्फबाट जाने बाटो प्रयोग गरिएको छ । तिवारीले स्वास्थ्य कार्यालयबाट अस्पतालतर्फ जाने बन्द रहेको गेटलाई सञ्चालनमा ल्याइएको जानकारी दिए ।

मानिस आवतजावत त्यसै गेटबाट गर्न शुरु गरेको र भूइँ मिलाएर गाडीसमेत सोमबारबाट सञ्चालनमा ल्याइने बताए । संक्रमित ल्याउन, लैजान र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले सोही बाटो प्रयोग गर्ने छन् ।

नयाँ प्रवेशद्वारबाट सोझै संक्रमित राखिएको स्थानमा जाने बाटो रहेको छ । संक्रमित रहेको क्षेत्रलाई हरियो जालीले घेरेर थप व्यवस्थित गर्न लागिएको तिवारीले बताए । हाल संक्रमित राखिएको क्षेत्रलाई पूरै सिल गरिएको छ । त्यहाँ २७ जना संक्रमित रहेका छन् ।

संक्रमितको उपचारमा संलग्नलाई एक होटलमा क्वारेन्टिन बनाएर राखिएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सो ठाउँमा अहिले २३ जना चितवनका, बर्दघाट सुस्त पूर्वका तीन जना र एक जना कपिलवस्तुका संक्रमित रहेका छन् ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल मर्मतसम्भार गर्नुपर्ने भएपछि संक्रमित सबैलाई भरतपुर अस्पताल सारिएको छ । अस्पतालको हाडजोर्नी र सर्जरी विभागका बिरामीलाई स्थानान्तरण गरेर सो ठाउँमा संक्रमित राखिएको हो ।

पौडेलका अनुसार सो ठाउँमा १० श्ययाको सघन उपचार कक्षसहित ७५ श्ययाको आइसोलेसन कक्ष रहेको छ । सिसी क्यामेरा, इन्टरनेट, टेलिफोनको इन्टरकमलगायतका प्रविधि जडान गरी उनीहरुको अनुगमन गरिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले संक्रमितलाई प्रवेशद्वारदेखि उपचार क्षेत्रसम्म अलग गरिएकाले अन्य बिरामीलाई कुनै असर नगर्ने बताए । अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

अधिकारीले सर्वसाधारण जनताको निःशुल्क र न्यून शुल्कमा उपचार गर्ने यस अस्पतालमा पाउने सेवालाई सञ्चालन गरी संक्रमितको समेत उपचार गरिएको बताए । राजधानीको प्रसूति गृहपछि धेरै बच्चा जन्माउने र उपचार हुने यस अस्पताल सङ्घीय अस्पताल हो ।

यस अस्पतालले कोभिड-१९ प्रयोगशालासमेत सञ्चालन गर्दै आएको छ । कोरोना संक्रमितको उपचार गरी यहीँबाट सात जना घर फर्किसकेका छन् ।

प्रतिक्रिया