कर्णालीमा थप ११० जनामा संक्रमण पुष्टि, संक्रमितको कूल संख्या १०७७ पुग्यो

admin

काठमाडौं, १ असार : सोमबार कर्णाली प्रदेशमा थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।

यसैबीच कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ । सोमबार कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या १५१ पुगेको हो ।

प्रतिक्रिया