दाङमा ४ स्वास्थ्यकर्मीसहित थप ४२ जनामा संक्रमण

admin

दाङ, १ असार : दाङमा सोमबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दाङमा संक्रमितको संख्या १ सय ८६ पुगेको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ का तीन जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का पाँच जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का सात जनामा संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।

संक्रमित हुनेमा ७ जना महिला रहेका छन् । त्यस्तै संक्रमितमध्ये चार जना स्वास्थ्यकर्मी रहेका छन् । घोराही १७ का संक्रमित १७ जना र वडा नम्बर १८ का दुई जना भने रिपोर्ट आउन ढिला भएपछि घर गएकाहरु हुन् ।

उनीहरुलाई अहिले आइसोलेशनमा पुर्‍याइएको छ भने उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्ने कामसमेत सुरु भएको उपमहानगरपालिकाले जनाएको छ ।

योसँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये एक जनाको भारतमा ज्यान गएर घोराहीमा स्वाब जाँच गर्दा र अर्का एक जना घोराहीका काठमाडौंमा संक्रमण पुष्टि भएको हो ।

साथै घोराहीका आठ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यसैबीच बङ्गलाचुलीका एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया