प्रदेश ५ : आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख बजेट

admin

रूपन्देही, १ असार : प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए ।

त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबै जिल्ला अस्पताललाई स्तरोन्नती गर्ने गरी बजेट विनियोजन भएको छ । सामाजिक विकासका लागि ५ अर्ब ६७ करोड छ । कोभिड-१९ नियन्त्रण तथा भैपरी आउने खर्चका लागि १ अर्ब बजेट विनियोजन भएको छ ।

कोभिड-१९ का कारण बेरोजगार बनेका युवालाई रोजगार दिने एवं हुन सक्ने खाद्य संकट व्यवस्थापनका लागि उत्पादनमुखि कार्यक्रम विस्तार गर्न भुमि व्यवस्था कृषि तथा सहकारीतर्फ ४ अर्ब ८६ करोड ३५ लाख बजेट छ ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सबै स्थानीय तहमा विस्तार गर्दै विशेष अनुदानतर्फ १ अर्ब रुपैयाँ रकम छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि २ अर्ब ३ करोड बजेट विनियोजन भएको छ । सरकारले ल्याएका अधिकांश कार्यक्रम र बजेट कोभिड-१९ को रोकथाम तथा न्यूनीकरण र रोजगार केन्द्रित रहेका छ ।

प्रतिक्रिया