घुस लिएको अभियोगमा लेखा अधिकृतसहित २ जना पक्राउ

राष्ट्रिय समाचार समिति

सर्लाही,९असार : हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन् । नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले आज साँझ उनीहरुलाई रु चार हजारसहित पक्राउ गरेको जनाइएको छ । सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कमिसन मागेको आयोगले आरोप लगाएको छ ।

उनीहरुलाई मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट आयोगको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ । आवश्यक कारवाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल बुधबार पठाइने बताइएको छ ।

प्रतिक्रिया