वीरेन्द्रनगर नगरपालिकाको कुल बजेट १अ र्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३

खगेन्द्र हमाल

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/ ७८ को कूल बजेट १ अर्व ४२ करोड ९९ लाख ९१ हजार ८२३ रुपैयाँ विनियोजन गरेको छ। बुधबार बसेको विरेन्द्रनगर नगरपालिकाको सातौ नगरसभाको प्रथम बैठकलाई सम्बोधन गर्दै बिरेन्द्रनगर नगरपालिकाकि उपमेयर मोहनमाया ढकालले आर्थिक बर्ष २०७७/७८ को उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

चालु खर्च रु. ९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगत तर्फ ५१ करोड ६७ लाख ९८ हजार ४२३ र वित्तिय व्यवस्था तर्फ ८२ लाख ८० हजार विनियोजन गरिएको उक्त बजेट प्राथमिकताका नीति तथा क्षेत्रहरुलाई विशेषरुपमा समावेश गरिएको छ।कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्राथमिकता दिदै नगरपालिकाले जम्मा रु ५ करोड बजेट विनियोजन गरेको छ भने उक्त बजेटले बिरेन्द्रनगर नगरपालिका भित्र एउटा नगर अस्पताल स्थापना गरिने भएको छ।

बिरेन्द्रनगर नगरपालिकाले पहिलोपटक महिला स्वरोजगार, युवा स्वरोजगारमा र कृषितर्फ विशेष जोड दिदै भारत लगायत विदेशबाट बिरेन्द्रनगर पालिकाभित्र भित्रिएका नगरबासीको सीप स्वदेशमै प्रयोग गर्ने भएको छ।शहरी क्षेत्रमा कौषी खेतीमा विशेष जोड दिने र नगरक्षेत्रका उत्कृष्ट पत्रकारिता गर्ने महिला र पुरुष गरी २ जना संचारकर्मीलाई नगर विकास पत्रकारिता पदक तथा जनही रु ५० हजार नगद पुरस्कारबाट सम्मान गरिने भएको छ।

छोरी छात्रवृत्ति कार्यक्रम,कानून विषयमा उच्च शिक्षा अध्ययन गर्न १६ जनालाई छात्रवृत्ति दिईने र विद्यालय सुधार, वैकल्पिक तरिकाको शिक्षण, सम्बन्धित तहको शिक्षकबाट प्रधानाध्यापक नियुक्ति, तथा कार्यसम्पादन करार लगायतलाई विनियोजन बजेटले विशेष जोड दिएको छ।

नगरपालिका भित्र फोहोरमैला व्यवस्थापनमा एकीकृत नीति तर्जुमा गरी नीजि क्षेत्रसँग सहकार्य गरिने उक्त बजेटमा उल्लेख गरिएको छ।बिरेन्द्र नगरपालिका भित्रका सबै महिलाहरुको पाठेघरको स्क्रिनिङ गर्न अभियानको रुपमा लैजाने र सबै गर्भवतीको निःशुल्क भिडियो एक्सरे,महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण,मातृशिशु सुरक्षाका लागि आफ्नै एम्बुलेन्स संचालन निरन्तरता दिने लगायतका कार्यहरुमा नगरपालिकाले विशेष जोड दिएको छ।


विनियोजन बजेटले विद्युतीय सुशासनमा विशेष जोड दिदै एकीकृत सफ्टवेयर निर्माण तथा नगर क्षेत्रभरी आफ्नै अप्टिकल फाईबर र इन्ट्रानेटलाई प्राथमिकतामा राखेको छ। नगरपालिका भित्र गुनासो सुनुवाईको लागि नगरमा टोलफ्री नम्बर स्थापना र सहकारीसँगको सहकार्यमा कम्तीमा एउटा सुपथ मुल्यको पसल संचालन गरिने भएको छ।यसैगरी बिरेन्द्रनगर नगरपालिकाले सुब्बाकुना घुस्रा बांगेसिमल जोड्ने सहायक राजमार्गको सम्भाव्यत अध्ययन र साझेदारीमा कामको थालनी र खोलानाला नदि तथा बाटोको क्षेत्राधिकार कायम हुने गरि लोकप्रिय बजेट विनियोजन गरेको छ।

गुरुयोजनालाई अन्तिम रुप र सहरी नापीको निरन्तरता दिइने भएको छ।बिरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ र १६ मा विद्यूतीकरण निरन्तरता दिदै मूल बजारको विद्युतीकरण अन्डरग्राउन्ड गर्न सहकार्य गरिने भएको छ।

यसैगरी सशर्त बाहेक नगरपालिकाबाट विनियोजित बजेट मध्ये आर्थिक विकासतर्फ रु ४३६१०००० (चार करोड छत्तीस लाख दश हजार),सामाजिक विकास तर्फ रु १२३०३१००० -बाह्र करोड तीस लाख एकतीस हजार),पूर्वाधार विकास तर्फ रु १४२९४५९४९ -चौध करोड उनान्तीस लाख पैंतालिस हजार नौसय उनानपचास),वातावरण तथा विकासतर्फ रु २३१७५००० (दुई करोड एकतीस लाख पचहत्तर हजार) र संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ६१२८५००० (छ करोड बाह्र लाख पचासी हजार)विनियोजन बजेटमा उल्लेख गरिएको छ।

आयोजित सातौं नगरसभामा सो बजेट प्रस्तुत गर्दै बिरेन्द्रनगर नगरपालिकाकि उपप्रमुख मोहनमाया ढकालले नगरवासीको मौलिक हकको रुपमा रहेका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्दै जाने, निजी तथा सहकारी क्षेत्रसँग सहकार्य गर्दै रोजगारीका अवसर सिर्जना गर्ने, साधन स्रोत, अवसर र क्षमताको विकास तथा सोको उच्चतम् उपयोग गरी समृद्ध नगरपालिका बनाउन बजेट केन्द्रित भएको नगरसभालाई जानकारी दिनुभयो।

नीति तथा कार्यक्रममा आर्थिक, भौतिक, सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ नगरपालिका बनाइ राष्ट्रको विकासमा टेवा पुर्‍याउने बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया