बृन्दावनकी उपप्रमुख खातुनद्वारा नगरसभा बहिष्कार

राष्ट्रिय समाचार समिति

रौतहट, ११ असार :रौतहटको बृन्दावन नगरपालिकाका उपप्रमुख नुरजहाँ खातुनले चौथो नगरसभा बहिष्कार गर्नुभएको छ । प्रमुख रामस्नेही यादव र प्रशासकीय अधिकृत नागेन्द्र यादवले बलपूर्वक नगरसभा गर्न लागेको आरोप लगाउँदै उपप्रमुख खातुनले नगरसभा बहिष्कार गर्नुभएको हो ।

उपप्रमुख खातुनले गत कात्तिकदेखि प्रमुख र अधिकृत मिलेर करोडौँ रकम भ्रष्टाचार गरेको, हिसाब माग्दामाग्दै पनि हिसाब नदिएको र बुधबार जबर्जस्ती नगरसभा गर्न लागेकाले बहिष्कार गरेको बताउनुभयो ।

नदीजन्य सामग्री बेचेर रु छ करोड र अन्य शीर्षकको साढे पाँच करोड गरी कूल ११ करोड ५० हजार बृन्दावन नगरपालिकामा भ्रष्टाचार भएको उपप्रमुख खातुनको दाबी छ ।

लकडाउनअघि नै बैंक ‘स्टेटमेन्ट’को लागि नगरपालिकामा निवेदन दर्ता गराएकोमा हालसम्म कुनै जवाफ नआएको बताउँदै उहाँले उपप्रमुखको अनुगमन बिनानै सबै योजनाको भुक्तानी भइरहेको बताउनुभयो । प्रमुख यादवले हिसाब नदिएमा आफू अख्तियारका साथै उच्च अदालतमा जाने उपप्रमुख खातुनले चतावनी दिनुभयो ।

उहाँले बुधबार भएको एकपक्षीय नगरसभा बदर गरी हिसाब फछ्र्र्याेटपश्चात नगरसभा गर्न माग गर्नुभएको छ । उता प्रमुख यादवले उपप्रमुखले सहमतिमा नगरसभामा भएको बताउनुभयो ।

प्रतिक्रिया