क्वरेण्टीनबाट घर पठाइएका २ सय ५० जना भन्दा बढीमा कोरोना संक्रमण

admin

कैलाली, ११ असार सुदूरपश्चिम प्रदेशमा १४ दिन क्वरेण्टीनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नआउँदै घर पठाइएका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जेठ २९ गते लक्षण नदेखिएहरुलाई घर पठाउन पालिकालाई निर्देशन दिएको थियो । निर्देशन अनुसार सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ३५ हजार भन्दा बढीलाई घर पठाइएको छ ।

तर घर पठाएका २ सय ५० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १४ दिनसम्म लक्षण नदेखिएपछि घर पठाएको तर रिपोर्ट पोजेटिभ आएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल मल्लले बताए ।

डाक्टरको सल्लाह अनुसार नै उनीहरुलाई घर पठाएको पनि उनको दावी छ । लक्षण नदेखिएकालाई क्वरेण्टीनबाट घर पठाउँदा कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने जोखिम बढेको डाक्टरले बताएका छन् ।

सेती अस्पतालका फिजिसियन डा. निराजनदत्त शर्माले क्वरेण्टीनमा बसेकाहरुको कोरोना परीक्षण दायरा बढाएर रिपोर्ट आएपछि मात्रै घर पठाउनुपर्ने बताएका छन् । लक्षण नदेखिनुलाई आधार मानेर घर पठाउँदा संक्रमण थप फैलनेतर्फ ध्यान दिन उनको सुझाव छ ।

प्रतिक्रिया