चन्द्रागिरीको रु एक अर्व ४९ करोड ६२ लाखको वजेट

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ११ असार: चन्द्रागिरी नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि रु एक अर्ब ४९ करोड ६२ लाख १६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।काठमाडौँ प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरीले बुधबार पाँचौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेको हो ।

चन्द्रागिरीकी उपप्रमुख लिसा नकर्मीले बुधबार अनुमानित बजेट पेश गर्दै आगामी आर्थिक वर्षमा रु ५२ करोड ५१ लाख ५० हजार राजश्व उठाउने लक्ष्य राखेको बताउनुभयो । जसमा आन्तरिक राजश्व, घर जग्गा रजिष्ट्रेशन र गत आर्थिक वर्षको अनुमानित मौज्दात रहेको छ ।

चन्द्रागिरीले नेपाल सरकारबाट रु ६६ करोड ३५ लाख १९ हजार प्राप्त गर्ने जनाएको छ । जसमध्ये सशर्त अनुदान, विलेश अनुदान, समपूरक अनुदान र राजश्व बाँडफाँडबाट प्राप्त रकम रहेको छ । यसैगरी प्रदेश सरकारबाट रु १२ करोड ८५ लाख २६ हजार पाउने बताएको छ । जसमा राजश्व बाँडफाँडबाट प्राप्त रकम (सवारी करसमेत), प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, प्रदेश विशेष अनुदान, प्रदेश सशर्त अनुदान र प्रदेश समपूरक अनुदान रहेको छ ।

चन्द्रागिरीले अन्य सरकार निकायबाट जम्मा रु २१ करोड २० लाख १७ हजार ल्याउने बताएको छ । जसमा सामाजिक सुरक्षा भत्ता र जिल्ला समन्वय समितिबाट प्राप्त रकम रहनेछ । चन्द्रागिरीले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा चालुतर्फ रु ७४ करोड १२ लाख, पूँजीगत खर्चतर्फ रु ६० करोड ५० लाख र सामाजिक सुरक्षामा रु १५ करोड खर्च गर्ने बताएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताउनुभएको थियो ।

प्रतिक्रिया