अब झाडापखालाविरुद्ध बालबालिकालाई ‘रोटा खोप’

admin

काठमाडौं, १२ असार : नेपालमा पहिलोपटक झाडापखालाविरुद्धको ‘रोटा खोप’ सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असारदेखि नै सो खोप दिन लागिएको हो ।

Rotavirus vaccine vial held by gloved healthcare worker hand. Label is fictitious and created by photographer.

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ ।

खोप शाखा प्रमुख डा. गौतमले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । खोपहरू केन्द्रीय स्टोरबाट प्रदेशमा पठाइसकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’

चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । देशभरका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोगविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले सरकारले रोटा भाइरसविरुद्धको खोपलाई नियमित अभियानअन्तर्गत अघि सारेको थियो ।

नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क खोप दिइँदै आएकामा अब रोटा भाइरसबाट हुने पखालाविरुद्धको खोप थप गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमले जानकारी दिए ।

बर्सेनि तीन लाख ५० हजार मानिस झाडापखालाबाट प्रभावित हुने गरेको तथ्यांकले देखाएको छ । सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार, हेपाटाइटिस ‘बि’, हेमोफिलस इन्फ्ल्युएन्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिसविरुद्धको खोप तथा गर्भवती महिलाका लागि धनुष्टंकार र भ्यागुते रोगविरुद्धको टिडी खोप मात्रा निःशुल्क उपलब्ध गराउँदै आएको छ । खोप कार्यक्रम सञ्चालनका लागि बर्सेनि तीन अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी २३ र २४ असारमा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख तीन हजार पाँच सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ ।

यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार एक सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस्तै, बालभिटा कार्यक्रम लागु भएका ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी दिए । यसअघि गत २ र ३ कात्तिकमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पहिलो चरणको कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत पहिलो चरणमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि उपलब्ध गराइएको थियो ।

यस्तै, ६ देखि २३ महिनाका बालबालिकाभलाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गरिएको थियो । बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न भिटामिन ए कार्यक्रम महत्वपूर्ण मानिन्छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया