११ दिनमै उठ्यो २४ अर्ब बढी राजस्व, सबैभन्दा धेरै आयकर

admin

काठमाडौं, १३ असार : बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको छ । तीन महिनाको लगातारको लकडाउनका कारण अत्यन्तै न्यून राजस्व संकलन भएको थियो । तर, सरकारले लकडाउन खुकुलो गरेलगत्तै राजस्व उठ्ने क्रममा वृद्धि भएको हो ।

विभागका अनुसार १–१२ असारसम्म कुल २४ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जसमध्ये आयकरतर्फ १२ अर्ब ६२ करोड, अन्तःशुल्कतर्फ ३ अर्ब ८ करोड र मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यस अवधिमा जम्मा भएको २४ अर्ब २२ करोड राजस्व मध्ये आयकर, अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट)बाट गरी जम्मा २३ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो भने अन्य बाँकी ३६ करोड रुपैयाँ शिक्षा सेवा र स्वास्थ्य सेवा करबापत संकलन भएको विभागले जनाएको छ ।

सरकारको गत ७ असारभित्र कर तिर्न दिएको पछिल्लो अल्टिमेटमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । तर, सर्वोच्चले दिएको यस्तो मौकाका बाबजुद पनि करदाता एवं सेवाग्राही व्यवसायीले असारको बितेका ११ दिनमा २४ अर्ब २२ करोड रुपैयाँ राजस्व खातामा दाखिला गरिदिएर सरकारलाई संकट परेको बेला सारथी बनिदिएका हुन् ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले १ असारबाट लकडाउन केही खुकुलो भएसँगै सेवाग्राही एवं व्यवसायीले स्वःस्फूर्त रूपमा धमाधम राजस्व बुझाउन थालेकाले छोटो समयमा धेरै राजस्व संकलन भएको बताए । निजी क्षेत्रले आफ्नो जिम्मेवारीअनुसार समयमै राजस्व बुझाएर सरकारलाई राम्रो साथ दिएको र यो सरकारका लागि गौरवको विषय भएको महानिर्देशक कुँवरको भनाइ छ ।

महानिर्देशक कुँवरले अहिलेसम्मको राजस्व उठ्तीको अवस्था हेर्दा विभागले असारमा राजस्व उठाउन लिएको लक्ष्य पूरा हुने दाबी गरे । आन्तरिक राजस्व विभागले चालु आवको असारमा करिब ८२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । अहिलेसम्म उठेको राजस्वले असार महिनाको लक्षित राजस्व सजिलै पूरा हुने विभागका महानिर्देशक कुँवरको दाबी छ । ‘अहिले आम करदाताले स्वस्फूर्त रूपमा राजस्व तिरिरहेका छन् त्यसैले सरकारलाई सहयोग मिलिरहेको छ,’ कुँवरले राजधानीसँग भने ।

अहिले मुलुकमा कोरोना भाइरस संक्रमणको दर उच्च देखिएको छ । शुक्रबारसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ११ हजार सात सय ५५ जना पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना पुगिसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने उच्च जोखिमका बाबजुद पनि अहिले सेवाग्राही आपूmले बुझाउनुपर्ने राजस्व तिर्न विभिन्न कर कार्यालय पुगिरहेका छन् ।

विगत तीन महिनाभन्दा बढी समयदेखि आफ्ना व्यवसाय बन्द गरी लकडाउनले घरमा थुनिएका व्यवसायीले लकडाउन खुकुलो भए पनि अझै राम्रोसँग व्यापार÷व्यवसाय गर्न सकिरहेका छैनन् । सरकारले उनीहरूलाई कुनै राहत पनि दिएको छैन तर पनि व्यवसायीहरूले आफ्नो दायित्वअनुसार उत्साहका साथ कर बुझाइरहेका छन् ।

लामो लकडाउनका कारण देशको ढुकुटी सकिनै लाग्दा व्यवसायीले तिरेको करले पुनः ढुकुटी भरिन थालेको छ । ढुकुटी सकिन लाग्दा सरकारलाई दैनिक खर्च सञ्चालनमा समेत समस्या पर्न थालेको थियो तर व्यवसायीले समयमा नै कर तिरेपछि सरकारलाई दैनिक कार्य सञ्चालनमा राम्रो सहयोग मिलेको हो । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया