चितवन मेडिकल कलेजमा ३० श्ययाको कोभिड आइसियू

राष्ट्रिय समाचार समिति

चितवन, १३ असार : चितवन मेडिकल कलेजले ३० श्ययाको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरेको छ । कोरोना सङ्क्रमण भएकाहरुको उपचारका लागि अस्पतालले सघन उपचार कक्ष स्थापना गरेको हो ।

सो कक्षको आज रोटरी इन्टरनेशनल वर्ष २०२१÷२२ का प्रेसिडेन्ट शेखर मेहता, डिष्ट्रिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उद्घाटन गर्नुभएको हो । मेहताले सामाजिक सञ्जालमार्फत सम्बोधन गरेर र श्रेष्ठ एवं भट्टराई प्रत्यक्ष उपस्थित भएर उद्घाटन गर्नुभएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले ३० श्यया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताउनुभयो । भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । न्यौपानेका अनुसार यो सघन उपचार कक्ष कोभिड–१९ उपचारका लागि नेपालकै सबैभन्दा ठूलो र सुविधासम्पन्न हुनेछ । हाल चारवटा भेन्टिलेटर भए पनि १५ दिनभित्र ३० वटै भेन्टिलेटर आइपुग्नेछ ।

स्वास्थ्य मन्त्रालयमा कोभिड–१९ उपचारका लागि अनुमति माग गरिएको भन्दै उहाँले पिसिआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको बताउनुभयो । मन्त्रालयले अनुमति दिएसँगै सघन उपचार कक्ष र प्रयोगशाला सञ्चालनमा आउने उहाँको भनाइ छ । अस्पतालले रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयारी गरेको होे भने कोभिड–१९ सघन उपचार कक्षका लागि रु २५ करोड हाराहारी खर्च भएको उहाँले जानकारी दिनुभयो ।

सोही मेडिकल कलेजका प्राविधिकहरुले अहिले पनि भरतपुर कोभिड–१९ प्रयोगशालामा काम गरिरहेका छन् । यस मेडिकल कलेजले भरतपुर कोरोना अस्पताल, माडी र भरतपुर महानगरपालिका–५ मा श्यया उपलब्ध गराएर सहयोग गरेको छ ।

प्रतिक्रिया