को हुन्, हातमा प्ले कार्ड बोकेर एमसीसीविरुद्ध एक्लै चुपचाप बाटोमा बस्ने महिला ?

अस्मिता बेल्बासे

पोखरा, १४ असार : ‘राष्ट्रियता बेच्न पाइदैन, एमसीसी हामीलाई चाहिँदैन,’ हातमा समातेको प्ले कार्डमा ठूल्ठुला अक्षरमा लेखिएको छ ।

यस्तै अघिल्तिर झुण्ड्याइएको व्यानरमा पनि एमसीसीबारे केही लेखिएको छ । बाटो हिँड्ने बटुवाहरुले एक नजर उनीतर्फ फ्याँक्छन् । कतिले के हो ? कसो हो ? सोधि पनि हाल्छन् ।

बुझ्न खोज्नेलाई हातमा प्ले कार्ड बोकेकी युवती बुझाउँछिन् । उनी हुन् पोखराकी श्रीस गुरुङ । जो एमसीसीविरुद्ध एक्लै उभिएकी छिन् ।  उनले चर्को घाम भनिनन्, पानी पनि भनिनन् । १४ दिनदेखि निरन्तर यही ठाउँमा छिन् उनी ।

दिनको ठिक एक बजे आउँछिन् । बेलुका ४ बजेसम्म पोखराको चहलपहल बढी हुनेमध्येको बजारक्षेत्र चिप्लेढुंगामा हातमा प्ले कार्ड बोकेर चुपचाप बस्छिन् । उनी एमसीसी नेपालको हितविपरित रहेको भन्दै एक्लै विरोधमा उत्रिएकी हुन् ।

१४ दिनअघि एक्लै विरोधमा उत्रिएकी उनको अभियानमा साथ दिन अहिले त एक, दुई जना अरु पनि थपिएका छन् । आफ्नो समयअनुकूल आउँछन् । चुपचाप समर्थन जनाउँछन् । जान्छन् । अब्यक्त सहमति जनाउने अरु पनि थुप्रै छन् ।

यो विरोध के का लागि ? हामीले सोधिहाल्यौं । देशको बिग्रदो अवस्था त छ नै राष्ट्रघाती एमसीसीबाट जनताको ध्यान नहोटोस् भनेर यसरी विरोधमा उत्रिनु परेको उनले सुनाइन् । नेपाली जनताको मन उथलपुथल भए पनि विरोधमा उत्रिन नसकेको उनको मत छ ।

‘जसरी अहिले कोरोनाको महामारी फैलिइरहेको छ, यसको असरले भोकमरी पनि बढ्दै छ, अव्यवस्थित क्वारेन्टाइन लगायत सबैको लागि हो यो विरोध,’ उनले भनिन्, ‘तर, कोरोनाको बाहनामा एमसीसीबाट ध्यान नहटोस् भनेर एमसीसीको विरोध गरिरहेको हो, राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्छ भनेर नै यहाँ बसिरहेको छु ।’

सानो संख्यामा विरोधमा उत्रिएको देख्दैमा नजरअन्दाज गर्न नमिल्ने उनको तर्क छ । बाटो हिँड्नेहरु जिज्ञासा राख्छन् । आफूहरु विरोधमा उत्रिन नसके पनि प्रतिनिधित्व गरेको भन्दै खुसी व्यक्त गर्छन् । ‘सबै जनाले धन्यवाद दिइरहनुभएको छ, र मनैदेखि एकदम खुसी हुनुहुन्छ । एटलिस्ट हाम्रो क्षेत्रबाट तपाईंले प्रतिनिधित्व गरिरहनुभएको छ भनेर एकदम खुसी हुनुहुन्छ,’ उनले अघि सुनाइन्, ‘जो यहाँबाट बाटो क्रस गरेर जानुहुन्छ । सबै जनाले एकदमै धन्यवाद दिइरहनुभएको छ ।’

हामीले सोध्यौं, तपाईंको यो आवाज सम्बन्धित ठाउँमा पुगेको छ त ? उनलाई पुगे जस्तो लाग्छ । कुनै एक माध्यमबाट सम्बन्धित निकायले उनको अभियानबारे जानकार भएजस्तो लाग्छ उनलाई । यद्यपि, यो अभियान सफल पार्न आफू जस्तै लाखौं नेपाली जनताले आवाज उठाउनुपर्ने उनको तर्क छ ।

‘पुग्न त पुग्यो होला, सामाजिक सञ्जाल छ, तपाईंहरुजस्तो मिडियाबाट पनि आउनुभयो,’ उनले भनिन्, ‘तर, म एक्लैको आवाजले मात्रै पुग्दैन । यसमा लाखौं नेपालीले आवाज उठाउनुपर्छ ।’ घर भित्रबाट बोेलेको आवाज भने सम्बन्धित ठाउँमा नपुग्ने जस्तो लाग्छ उनलाई । आफ्नो आवाज बलियो पार्न आफैं लागि पर्नु पर्ने पनि बुझेकी छिन् उनले ।

‘घरमै चिन्ता गरेर बसेर त त्यो घरमै सकिन्छ, आउनुस् सबैजना मिलेर विरोध गरौं,’ उनले भनिन्, ‘हामी सबै यो बेथितिको मारमा परिरहेका छौं । कसैले कर तिर्न सकेका छैनौं । कसैले खान पाएका छैनौं । हातमा हात मिलाएर सरकारलाई झक्झकाऔं, देश बने हामी बन्छौं ।’

महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले पहिलो मापदण्ड नै कायम गरेको छ सामाजिक दूरी । ‘आवाज उठाउने नाममा कोरोना फैलाई रहेका त छैनौं हामी । विरोधका लागि अहिले त सामाजिक सञ्जाल पनि सबैको पहूँचमा छ रु’ हामीले सोध्यौं । यसमा सही समयमा सही निर्णय लिनु नै राम्रो निर्णय हुने उनको तर्क छ । ‘मानौं, एउटा फोहोर खोलामा मान्छे बग्यो रे !’ उनले भनिन्- ‘खोला फोहोर छ भनेर हेरेर बसेर त भएन नि, पहिला मान्छे बचाउनुपर्यो । तब पो खोला सफा गर्ने हो ।’

राष्ट्रियता अप्ठ्यारोमा परेको हुँदा बचाउन सबै लागि पर्नुपर्ने उनको मत छ । ‘राष्ट्रियता नै अप्ठ्यारोमा छ, देश नै रहने हो कि नरहने हो थाहा छैन, हामी बाँच्नुको के अर्थ रह्यो र !’ उनले भनिन्, ‘पहिला त राष्ट्रियता बचाउनुपर्यो । मैले सहन सकिन, त्यसैले बाहिर निस्किए, त्यसकारण तपाईंहरु पनि निस्किनुस् भन्छु ।’

प्रतिक्रिया