नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दै, सिंहदरबारभित्रै आन्दोलन

अस्मिता बेल्बासे

काठमाडौं, १६ असार : संसदीय समितिले निजामती सेवा ऐन पारित गरेसँगै नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । विभिन्न मन्त्रालयका कार्यरत नासुहरुले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका हुन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको भन्दै नासुहरु आन्दोलनमा उत्रिएका हुन् । अर्थ मन्त्रालयमा कार्यरत नायब सुब्बा हिमाल आचार्यले ऐनले नासुहरुलाई विभेद गरेको बताएका छन् ।

निजामती सेवा ऐन २०४९ ले दिएको वृद्धि विकास खोसेर ऐन आएको भन्दै उनले आपत्ति व्यक्त गरे । गृह मन्त्रालयका नासु लक्ष्मण गुरागाईँले वृति विकासको ढोका बन्द गर्ने गरी मन्त्रीको सहमतिका बाबजुद पारित भएको ऐनको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए ।

सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलन थप चर्किने उनले बताए । तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ ।

कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि राखेका छन् ।

प्रतिक्रिया