तिलोत्तमाका किसानलाई अनुदानमा बोयर बोका

राष्ट्रिय समाचार समिति

रुपन्देही, १६ असार : तिलोत्तमा नगरपालिकाले व्यावसायिक बाख्रापालनलाई प्रोत्साहन गर्न किसानलाई अनुदानमा बोयर जातको बोका दिएको छ । नगरपालिकाले प्रजनन प्रयोजनका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोयर जातको बोका दिएको हो ।

पशु सेवा शाखाले गरेको सूचनानुसार माग गर्ने पाँच बाखापालन फार्मलाई बोयर जातको बोका दिइएको नायब पशु सेवा प्राविधिक राजु कुँवरले जानकारी दिनुभयो । नगर उपप्रमुख जागेश्वरी चौधरीले आज किसानलाई बोका हस्तान्तरण गर्दै नगरपालिकाले व्यवसायिक कृषि प्रवद्र्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

किसानको मागलाई ध्यानमा राखी नगरपालिकाले वडा नं ७ को मिलिजुली बाख्रा पालन समूह, वडा नं ११ को भुजेल बाख्रा फार्म, वडा नं १२ का शान व्यावसायिक बाख्रा फार्म र पोख्रेली बाख्रा फार्म तथा वडा नं १ को लुम्बिनी गट फार्मलाई बोयर जातका बोका प्रदान गरेको हो । अनुदानमा दिइएका बोकाको तौल ३६ देखि ४२ किलोसम्म छ । सो अवसरमा किसानलाई आन्तरिक परजीवीविरुद्धको औषधिसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया