एकताबद्ध भएर अघि बढ्न मन्त्रीहरुको सुझाव, प्रधानमन्त्रीद्वारा छलफल

admin

काठमाडौं, १७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि मन्त्रीहरुसँग परामर्श गरेका छन् ।

बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उनले केही मन्त्रीहरुसँग परामर्श गरेका हुन् । उनले आफ्नो समूहका र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुलाई बालुवाटार बोलाका थिए ।

नेपाल निकट मन्त्रीहरु घनश्याम भुसाल र योगेश भट्टराई तथा पूर्व माओवादीको तर्फबाट रामबहादुर थापा बादल र लेखराज भट्ट छलफलमा सहभागी भएका थिए।

आफूहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली नागरिकले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ गर्न र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गर्न सुझाव दिएको मन्त्री भट्टराईले बताएका छन् ।

प्रधानमन्त्रीले अरु नेताहरुसँग पनि छलफल गर्ने बताएको र विवाद छिटै मिल्ने उनको भनाई छ । नेकपा स्थायी कमिटी बैठक बुधबार बस्दैछ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकमा धेरैले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग गरेपछि ओली परामर्शमा जुटेका हुन् ।

प्रतिक्रिया