कोरोनाका कारण एक शिशुको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

अस्मिता बेल्बासे

काठमाडौ, १८ असार : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ४५ दिनका शिशुको मृत्यु भएको छ । टिचिङ अस्पतालका कोरोना व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासले अस्पतालमा उपचारत ४६ दिनका शिशुको निधन भएको जानकारी दिएका छन् ।

शिशुलाई मंगलबार कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा बुधवार साँझ निधन भएको हो । शिशुलाई उपचारका लागि ३ साता अघि अस्पताल लगिएको थियो ।

जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । त्रिवि शिक्षण अस्पतालमा घाँटीको समस्या लिएर उपचारका लागि ३ साता अघि भर्ना भएका शिशुलाई कोरोना पुष्टि भएको थियो ।

म्याग्दी घर भएका ती शिशुको घाँटीमा समस्या देखिएपछि शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । शिशुको अवस्था जटिल भएपछि चिकित्सकहरुले कोरोनाको रिपोर्ट नआउँदै सोमबार आइसोलेसन विभागमा नै शिशुको घाँटीको शल्यक्रिया गरेका थिए ।

मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसन वार्डमा नै राखिएको थियो । शिशुको बुधबार बेलुका निधन भएपछि श’व व्यवस्थापन समेत गरिसकेको डा. दासले जानकारी दिए । योसँगैँ नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया