संक्रमितको संख्या १६ हजार ९४५ पुगेसँगै, निको हुने १० हजार २ सय नाघ्यो

admin

काठमाडौं, २९ असार : सोमबार थप एक सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप १ हजार ७०५ जना कोरोनामुक्त भएका छन् ।

हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको र हाल सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै अहिलेसम्म निको भएकासहितको कूल संक्रमितको संख्या १६ हजार ९४५ रहेको पनि गौतमले बताए । उनका अनुसार आइतबार काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

सोमबार पाँच हजार आठ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा कोरोना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् ।

यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना संक्रमितको उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

प्रतिक्रिया