आज साउने सङ्क्रान्ति, कोरोनाको जोखिम कायमै भएकाले घरमै मनाउन संस्कृतिविदको अनुरोध

अस्मिता बेल्बासे

काठमाडौं, १ साउन : आज साउन १ गते, बिहीबार साउने सङ्क्रान्ति पर्व मनाईंदैछ । असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आज लुतो फाल्ने चलन छ ।

सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने गरिन्छ ।

आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने विश्वास छ ।

कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना संक्रमणका कारण भिडभाडमा जान नहुने भएपछि शिवालय लगायतका ठाउँमा चहलपहल छैन ।

कोरोनाको जोखिम कायमै भएकाले घरमै सङ्क्रान्ति मनाऔँ
कोरोना भाइरसको जोखिम कायमै भएकाले घरमै बसेर साउने सङ्क्रान्ति मनाउन मनाउन संस्कृतिविदले अनुरोध गरेका छन् ।

मन्दिर वा आफन्तकोमा जाँदा भाइरस सर्ने जोखिम भएकाले घरमा नै बसेर सङ्क्रान्ति मनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले अनुरोध गरेका छन् ।

‘यो वर्ष शुद्ध मनले घरमै पूजाआजा गरौँ, उनले भने सीमित संख्यामा पर्व मनाऔँ । जोखिम कम भएपछि आउँदा वर्षहरुमा आफन्त भेटघाट र रमाइलो गरेर मनाउन सकिहालिन्छ नि ।’

साउन महिनामा देशभरका शिवालयमा भक्तजनको घुईंचो लाग्ने गर्छ । तर यो वर्ष कोरोनाको जोखिम कायमै रहेकाले सरकारले पनि भिडभाड नगर्न अनुरोध गर्दै आएको छ ।

आफू र आफ्नो परिवारको कल्याणका लागि, मन्दिर जाने हो तर त्यहाँ जाँदा भिडभाड बढ्छ र स्वास्थ्य खतरा हुन्छ भने नजाँदा नै राम्रो हुने गौतम बताउँछन् ।

घरमै बसेर पनि पूजा आराधना गर्न सकिने उनको भनाइ छ । यस्तै आफन्तहरु धेरै जम्मा भएर सङ्क्रान्ति नमनाउन पनि उनको आग्रह छ ।

स्वास्थ्य भन्दा ठूलो केही नभएकाले अहिलेको अवस्थामा व्यक्तिगत सरसफाईमा ध्यान दिने र संयमित हुने समय भएको उनी बताउँछन् ।

यस्तै मेहन्दी र चुरा लगाउन पसलहरुमा गएर भिडभाड नगर्न पनि उनी सुझाव दिन्छन् । चुरा र मेहन्दी अलग्गै किनेर घरमै ल्याएर लगाउन उनको सुझाव छ ।

प्रतिक्रिया