सर्वोच्च अदालतमा मुद्दा फछ्र्यौट बढ्दो

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २ साउन :सर्वोच्च अदालतमा मुद्दा फछ्र्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा आव २०७६÷०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फछ्र्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷०७६ मा नौ हजार १९३ मुद्दा फछ्र्यौट भएकोमा गत आर्थिक वर्षमा १० हजार ७५९ थान मुद्दा फछ्र्यौट भएका छन् । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरिआएका २३ हजार ९५२ थान र आव २०७६÷०७७ मा नयाँ दर्ता भएका ११ हजार १७९ गरी कूल ३५ हजार १३१ मुद्दामध्ये १० हजार ७५९ मुद्दा फछ्र्यौट भएका छन् ।

यसैगरी गत आर्थिक वर्षमा उच्च अदालतमा ९०.३३ प्रतिशत र जिल्ला अदालतको ५८.३७ प्रतिशत मुद्दा फछ्र्यौट भएको मुख्य रजिष्ट्रार निरौलाले बताउनुभयो । उहाँका अनुसार लकडाउनको अवधिमा बन्दी प्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित एक हजार ८७५ थान मुद्दा दर्ता भएको छ ।

सर्वोच्चमा बन्दाबन्दीको वेला १० हजार ७५३ मुद्दा दर्ता भएकोमा दुई हजार ४१५ मुद्दा फछ्र्यौट भएका छन् । यो बन्दाबन्दीको वेला दर्ता भएका कूल मुद्दामध्ये २२.४५ प्रतिशत फछ्र्यौट भएको हो । सर्वोच्चले बन्दाबन्दीको बेलामा सूचना प्रविधिको प्रयोग गर्दै १४ वटा उच्च अदालत र मातहतका अदालतमा भर्चुअल रुपमा अदालतको निरीक्षणसमेत गरेको छ ।

मुख्य रजिष्ट्रार निरौलाले भिडियो कन्फरेन्सबाट अदालतमा बहस गर्ने व्यवस्था मिलाउन थालिएको जानकारी दिनुभयो । ‘‘विदेशमा पनि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस हुन थालेका छन्,’’ उहाँले भन्नुभयो, ‘‘कानून व्यवसायी अदालत नपुग्नुपर्ने र मुद्दा चाँडो किनारा लगाउनका लागि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस गर्न थालिएको हो ।’’ सर्वोच्चमा पाँच वर्ष नाधेका ७२५ मुद्दा रहेका छन् ।

प्रतिक्रिया