साउनको पहिलो सोमबार पनि पशुपति नखुल्ने

admin

काठमाडौं, ४ साउन : साउनको पहिलो (भोलि) सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ । कोरोना भाइसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर सोमबार पनि नखुल्ने भएको हो ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालयलगायतका ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् ।

यस्तै बेलुका हुने आरती पनि नियमित गर्न विधिपूर्वक एक जनाले गर्दै आएका छन् । यसैबीच पशुपति क्षेत्र विकास कोषले चाँडै नै दर्शनार्थीका लागि मन्दिर खुलाउने तयारी गरेको छ । मन्दिर पुग्ने दर्शनार्थीबीच दुरी कायम गर्ने, ठाउँ ठाउँमा साबुन पानीले हात धुने व्यवस्था गर्ने, भिडभाड नहोस् भन्नका लागि मन्दिर प्रवेश गर्ने र बाहिरिने छुट्टै ढोका प्रयोग गर्ने तयारी भएको छ ।

तर मन्दिर खुले पनि पहिलेको जस्तो लाइनमा राखेर दर्शन भने गर्न पाइने छैन । भक्तजनले चढाउन ल्याएको फूलमालासहितको सामग्री बाहिरै राख्नुपर्ने छ र कोषले बनाएको नियमअनुसार दर्शनार्थीले मन्दिरको दर्शन गर्नुपर्ने छ ।

यसअघिका वर्षमा साउने सोमबारमा पशुपतिलगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । यस्तै पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने सोमबार पनि हुनेछ । लकडाउनको बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भइरहेकै छ ।

पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो ।

प्रतिक्रिया