कर्णालीमा घट्दै कोरोना सङ्क्रमण दर

राष्ट्रिय समाचार समिति

कर्णाली, ४ साउन : पछिल्लो चौबीस घण्टामा कर्णाली प्रदेशमा एक जनामा मात्र कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यान बनगाड कुपिण्डे नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या एक अङ्कमा झर्दै आएको बताउनुभयो । यो सँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७३८ पुगेको छ । पिसिआर परीक्षण बढेसँगै पछिल्ला दुई महिनायता कर्णालीमा सङ्क्रमण दर एक अङ्कमा आएको उहाँको भनाइ छ । कर्णालीको सुर्खेत, जुम्ला, दैलेख र चौरजहारी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ ।

त्यस्तै कर्णालीमा पछिल्लो चौबीस घण्टामा एक जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । डोल्पाको मुड्केचुला गाउँपालिकाको आइसोलेशन केन्द्रबाट ती व्यक्ति कोरोना जितेर डिस्चार्ज भएको महाशाखा प्रमुख डा तिवारीले जानकारी दिनुभयो ।

योसँगै कर्णालीमा सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५११ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशमा २२१ जनामात्र सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुको प्रदेशका विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचार भइरहेको छ । कर्णालीमा सङ्क्रमणका कारण छ जनाको मृ’त्यु भइसकेको छ ।

प्रतिक्रिया