हिन्दूराष्ट्र घोषणा गरिनुपर्छ : नेता भण्डारी

राष्ट्रिय समाचार समिति

तनहुँ, ४ साउन :नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरिनुपर्ने बताउनुुभएको छ । व्यास नरपालिका–१० सिसुवा, भतेरीमा स्थानीय गाईको संरक्षण गर्न निर्माण गर्न लागिएको ट्रस्टको आज शिलान्यास गर्दै उहाँले नेपालमा अधिकांश हिन्दू जनता भएकाले सनातन हिन्दूराष्ट्रसहितको राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

धार्मिक भावना घट्दै गएकाले देशमा ह’त्या, हिं’सा, ब’लात्कार’जन्य घटना बढ्दै गएको बताउँदै उहाँले धर्मले सदाचारी नेता, नैतिकवान् कर्मचारी तथा शान्त समाज निर्माणमा सहयोग पुग्ने हुँदा हिन्दूराष्ट्रको संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो । नेपालमा करिब ६० प्रतिशत धार्मिक पर्यटक आउने गरेको र हिन्दूराष्ट्र घोषणा गर्दा यो सङ्ख्या अझ बढ्ने उहँँको विश्वास छ ।

विश्वको एकमात्र हिन्दूराष्ट्रभन्दा नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । लक्ष्मी पूजालगायतका हाम्रो धर्ममा गाई अनिवार्य आवश्यकपर्ने हुँदा यसको संरक्षणका लागि स्थानीय तहबाटै पहलकदमी गरिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गौ मातालाई स्वास्थ्य राख्नका लागि पौष्टिक आहार व्यवस्था गर्नुपर्छ ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गौ संरक्षणले फोहर र सवारी दुर्घटनामा न्यूनीकरण आएको बताउनुभयो । व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले गाईलाई हेलाको दृष्टि हेर्न थालेकाले गाईको महत्वका बारेमा जनचेतना जगाउनु तथा गाईको मूत्र प्रशोधन गरेर औषधि बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको रु पाँच लाखको सहयोगमा ट्रष्ट निर्माण गर्न लागिएको हो । व्यास नगरपालिकाले केन्द्रका लागि रु १२ लाख सहयोग गरेको छ । केन्द्रमा हाल सानाठूला गरी ५० वटा गाई राखिएको छ । केन्द्र सञ्चालनका लागि करिब ३०० रोपनी सार्वजनिक जग्गा भएको वडाले जनाएको छ ।

प्रतिक्रिया