नेपाल समूह दाहालसँग सशंकित, नेकपामा फेरि जबज चर्चा

admin

काठमाडाैं, ५ साउन : पार्टी एकीकरणका बेला एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा माथापच्ची भएको नेपाल कम्युस्टि पार्टी (नेकपा) मा फेरि जनताको बहुदलीय जनवाद (जबज) को विषय उठान भएको छ। पछिल्लोपटक यो विषय वरिष्ठ नेता माधव नेपालले उठाएका हुन्। उनले अब हुने एकता महाधिवेशनमा बहुदलीय जनवादलाई छलफलको विषय बनाउनुपर्ने बताएका छन्।

खुमलटारमा आइतबार बिहान भएको भेलामा नेपालले भने, ‘जबजको सिद्धान्त नै नेपालको कम्युनिस्ट आन्दोलनको मार्गचित्र हो। म यसको पक्षमा छु। तपाईंहरु अर्ली महाधिवेशनको कुरा गर्दै हुनुहुन्छ। जबजमा खुला छलफल आवश्यक छ। महाधिवेशनअघिबाटै यसलाई बहसको विषय बनाएर जाऔं।’ उनले थपे, ‘अहिले पनि जबज सान्दर्भिक रहेकाले यस्तो प्रस्ताव गरेको हुँ। यसमा कसैले अन्यथा मान्नुपर्दैन।’

पार्टी एकीकरणका बेला नेपालकै संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखिएको थियो। त्यहाँ राजनीतिक कार्यदिशा भनेर जनताको जनवाद उल्लेख छ। ‘पार्टी एकताको सन्दर्भमा जनताको जनवादलाई स्वीकार गरिएको हो। महाधिवेशन भएको छैन। सबै चिज महाधिवेशनले निर्धारण गर्ने हो।

त्यसकारण पनि जबज नै अहिलेको मूल कार्यदिशा हुनुपर्छ भन्ने मेरो लाइन हुनेछ’, स्रोतले नेता नेपालको उद्धृत ग¥यो। पार्टीभित्र सचिवालय सदस्य ईश्वर पोखरेलले पनि जबज नै पार्टीको मूल कार्यनीति हुनुपर्ने भन्दै आएका छन्। यस विषयमा नेता नेपाल हालसम्म मौन थिए।

शनिबार भएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेता नेपालले जबजको कुरा उठाएका हुन्।

आन्तरिक विवादमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पूर्वअडानमा अडिग रहे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल भने ढुलमुले देखिएका छन्। आन्तरिक विवाद बढ्दै जाँदा ओलीको विरोधमा साथ लिएका सहयात्रीलाई धोका दिँदै दाहालले पूर्वअडानमा कायम गर्न नसक्दा उनको स्वभाव ढुलमुले देखिएको हो।

आन्तरिक विवादमा नेता नेपालको बलियो साथ पाएका दाहालले शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई साथ दिएका थिए। मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्ने थाहा हुँदा पनि दाहालले ओलीको प्रस्तावलाई साथ दिएपछि दाहालले आफूहरुलाई धोका दिएको महसुस नेपाल पक्षले गरेको थियो।

ओली र दाहाल एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानु र त्यहाँ पार्टी एकताको समयमा साक्षी बसेका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुले नेपाल पक्ष झन् सशंकित भएको हो। नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।

प्रतिक्रिया