बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविदको सुझाव

admin

काठमाडौं, ५ साउन : देशभर पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ । अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ । काठमाडौं उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यी नदी र खोलामा बाढीको जोखिम
त्रियुगा, खाडो, बालन खुट्टी, चुरियाखोला, माउली, रातो, बिगही, झिमखोला हर्दीखोला, मरहाखोला, लखन्देही र साना नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

सोमबार नारायणी नदीमा पनि पानीको बहाव खतराको तह आसपास छ । त्यस्तै कन्काई, कोशी, कमला, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा पनि बहाव सतर्कता तह पुग्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

प्रतिक्रिया