पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

admin

काठमाडौं, ५ साउन : मनसुन सक्रिय हुँदा पहिरो, बाढी र चट्याङबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सोमबार पहिरोमा परी थप तीन जनाको मृत्यु भएको छ ।

कालिकोट, दार्चुला र काठमाडौंमा परीमा परी तीन जनाको मृत्यु भएको हो । कालिकोटको पचालझरना गाउँपालिका-३ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

दार्चुलाको नौगाड गाउँपालिका-६ परीगाउँमा खोलाको बहाब बढ्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ गगलफेदीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

यो सहित बैशाख यता पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुगेको छ भने ४३ जना बेपत्ता छन् । पहिरोमा परी ८७ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, बाढीबाट ६ जनाको मृत्यु, ६ जना बेपत्ता र तीन घाइते भएका छन् भने चट्याङबाट ४७ जनाको मृत्यु र १६१ जना घाइते भएका छन् ।

अविरल वर्षाका कारण कन्काइ, कमला, बामती, तिनाइ, पश्चिम सेतीका केही सहायक नदीहरुमा आकस्मिक बहाब बढ्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले देशभरका नदीहरुको बहाब बढिरहेकाले उच्च, मध्यम र कम जोखिम क्षेत्र समेत निर्धारण गरी सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया