अझै पाँच दिन भारी वर्षा हुने

राष्ट्रिय समाचार समिति

काठमाडौं, साउन ५ :न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ ।उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराउनुभएको थियो ।

सोक्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछिमात्र क्रमशः पानी पर्नेक्रम कम भएर जाने जानकारी दिनुभएको थियो ।उहाँकाअनुसार प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ ।पछिल्लो २४ घन्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ । यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ ।

न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताउनुभयो ।महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घन्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ ।

यस्तै, नवलपुरको डन्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताउनुभयो ।‘यो पछिल्लो २४ घन्टाको विवरण हो’–बैद्यले भन्नुभयो–‘यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।’

नारायणीमा खतराको तह नाघ्यो
चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सहतले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह आठ मिटर नाघेपछि खतराको तह पार हुनेमा नौ मिटरमाथि आइसकेको छ । वर्षात् नरोकिएकाले जलसतह थप बढ्ने अनुमान गरिएको छ ।

विभागले खतराको तह पार गरेको स्थानको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पूर्वी नपलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको बैद्यले जानकारी दिनुभयो ।यस्तै, कोसीमा सतर्कताको तह पार गरेकाले मंगलबारसम्म खतराको तह पार गर्नसक्ने अनुमान गरिएको छ ।यस्तै, कमला, कन्काई, वाग्मती र ती नदीका सहायक नदीमा बाढीले खतराको तहपार गर्नसक्ने अनुमान विभागले गरेको छ ।

यो वर्ष आगामी कात्तिकसम्मै वर्षा हुने सम्भावना रहेको छ । सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष भने झन्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ ।चार महिनामध्ये असारको मध्यदेखि भदौ मध्यसम्म अत्यधिक वर्षात् हुने गर्दछ । तर, योपटक मौसम सक्रिय भएदेखि नै वर्षात्को दर उच्च रहेको छ ।

मनसुन हुने चार महिनामध्ये असारको आधाआधीदेखि भदौ आधाआधीसम्म पानी बढी पर्ने समय हो ।यसपटक मनसुनको सुरुदेखि नै अत्यधिक पानी परिरहेको छ योक्रम आगामी कात्तिकसम्म जारी रहनेछ ।एक वर्षमा पर्ने पानीको ८० प्रतिशत पानी मनसुनको चार महिनामा पर्ने उहाँले जानकारी दिनुभयो ।

हरेक मनसुनमा बाढी–पहिरोका कारण हुने क्षति घटीबढी हुने भन्दै बैद्यले यसपटक हिउँदमा र प्रिमौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढी–पहिरोको प्रकोप उच्च भएको बताउनुभयो ।

हरेक दिन ‘मिडिया ब्रिफिङ’
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताउनुभयो ।आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्नसक्ने आधार बनाएका छौं’–मन्त्री पुनले भन्नुभयो–‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ ।’उहाँले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एकजनाले पनि ज्यान गुमाउनु नपरोस्’–मन्त्री पुनले भन्नुभयो ।

यस्तै, बाढी–पहिरोको सूचनालाई थप प्रभावकारी बनाउन मंगलबारदेखि अधिक वर्षात् नरोकिएसम्म हरेक दिन मन्त्रालयमा ‘मिडिया ब्रिफिङ’ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिनुभयो । विभागले सोमबारदेखि अरेक दिन बिहान ११ः०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया