नेतृत्व कमजोर हुँदा काँग्रेस कमजोर : वरिष्ठ नेता पौडेल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ६ साउन :नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भएको बताउनुभएको छ । विपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले विपी सङ्ग्रहालय सुन्दरीजलमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले काँग्रेसले सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न नसक्दा कमजोर हुँदै गएको बताउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन काँग्रेसको अहिलेको मुख्य आवश्यकता भएको बताउनुभयो । “काँग्रेसका कुनै नेताको पछाडि नलाग्नुहोस्, विचार, सिद्धान्त र आदर्शको पछाडि लाग्नुहोस्”, कार्यकर्तासँग उहाँले भन्नुभयो । कार्यकर्ताले नेताको मुख्याङ्कन गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।

नेता पौडेलले विपी कोइरालाले मुलुकमा सामन्तवादी युगको अन्त्य गरेर लोकतन्त्रका लागि लडेकाले कोइराला युगान्तकारी नेता भएको उल्लेख गर्नुभयो । मुलुकको कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले काँग्रेसले विपीको आदर्श र सिद्धान्तलाई नभुलेको प्रस्ट पार्नुभयो ।

काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सबै मिलेर काँग्रेस भित्रको विवाद अन्त्य गर्नुपर्ने बताउनुभयो । पार्टी भित्रको समस्या समाधानका लागि नेतृत्वले सबैलाई मिलाएर अगाडि लैजानुपर्ने उहाँको भनाइ थियो । पूर्वपरराष्ट्रमन्त्री डा महतले विदेशी ऋण स्वीकृत गर्ने सरकारले विदेशी सहयोग रकम लिन नमानेर गल्ती गरेको उल्लेख गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले विपीको सपना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताउनुभयो । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले वर्तमान सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले काँग्रेसभित्र विपी कोइरालाको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले नेविसङ्घ केन्द्रीय समितिलाई तत्काल पूर्णता दिन माग गर्नुभयो । उहाँले विपी कोइराला महान् राष्ट्रवादी नेता भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया