स्वास्थ्य मापदण्डको पालना नहुँदा, ट्राफिक प्रहरीद्वारा सार्वजनिक यातायातमा अनुगमन

admin

काठमाडौं, ८ साउन : सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक यातायातका चालक र सहचालकले नमानेका यात्रुले गुनासो गरेका छन् ।

सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेका, भौतिक दूरी कायम नगरेका र यात्रु उभ्याएर पनि राखेका गुनासो गरेका हुन् । यी गुनासा नआउन भन्नका लागि अनुगमन थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले ट्राफिक नियम पालनामा कडाइ गरेको छ । झण्डै चार महिनाको लकडाउन हटेपछि उपत्यकाको सडकमा निजी तथा सार्वजनिक गाडीको चाप बढेको छ । चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम पालनामा कडाइ गर्न थालेको हो ।

लकडाउन अन्त्य भए पनि कोभिड-१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालकाअनुसार उपत्यकाका २९ ठाउँमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बस बिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक गाडीको अनुगमन गरिनेछ ।

टोलीले सार्वजनिक यातायातमा व्यक्तिगत दूरी कायम गरे र नगरेको, चालक र यात्रुले मास्क लगाए र नलगाएको, तोकिएको भाडादर लिए र नलिएको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने उपरीक्षक ढकालले बताए ।

प्रतिक्रिया