दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाईदै, ३२ पुलको एकैसाथ उद्घाटन

admin

हेटौँडा, ८ साउन : वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । उनका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो ।

झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइएको भए पनि स्थानीयवासीको अवरोधका कारण कर्मचारी फर्किएको र उक्त गलत कार्यको नतिजास्वरुप तुइनबाट एकजना वृद्धाले ज्यान गुमाउन परेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले बताए । तर अब तत्कालै उक्त तुइन काटिने उनको भनाइ छ । उक्त तुइनबाट खसेर मंगलबार एक वृद्धाको मृत्यु भएको थियो ।

बाटो बनाउन बजेट विनियोजन
मकवानपुरको राक्सिराँग गाउँपालिकाका सर्वसाधारण परेवाभिरबाट जोखिम मोलेर यात्रा गरिरहेका छन् भने सरकारले यहाँ बाटो नबन्ने जनाइसकेको छ ।

यो भिरबाट बाटो बनाउने मागसँगै जनताले भोग्नुपरेको विषयमा गुनासो आएसँगै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले परेवाभिरबाट बाटो नबन्ने तर उक्त भिर छलेर बाटो बनाउन बजेट विनियोजन भइसकेको बताए

उनले उक्त क्षेत्रका जनताको कठिनाइलाई ध्यानमा राखेर बाटो बनाउने रकम विनियोजन गरिएको बताएका हुन् । करिब ४४ वटा भन्दा बढी बहुवर्षीय योजनाको सडक यस आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको मन्त्री फुयाँलको भनाइ थियो । उनले आगामी वर्षभित्र १०० वटा पुल निर्माण सम्पन्न गरिसक्ने र झोलुङगे पुल निर्माण गर्न स्थानीय तहलाई जिम्मा दिइने जनाए ।

३२ पुलको एकैसाथ उद्घाटन
भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले निर्माण गरेको ३२ वटा पुल सञ्चालनमा आएको छ । मन्त्रालयका अनुसार उक्त पुलको कूल बजेट रु ७३ करोड ७६ लाख ४३ हजार रहेको छ ।

पूर्वाधार विकास कार्यालय ललितपुरले ६, काभ्रेले ६, चितवनले ५, नुवाकोटले ४, सिन्धुपाल्चोकले ९, रामेछापले दुई पुल निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

जसअन्र्तत काठमाडौँमा १, ललितपुरमा ५, भक्तपुरमा १, काभ्रेमा ५, सिन्धुपाल्चोकमा ५, दोलखामा ३, चितवनमा ३, मकवानपुरमा २, धादिङमा १, नुवाकोटमा ३, सिन्धुलीमा १, रामेछापमा २ गरी ३२ पुल निर्माण गरिएको जनाइएको छ ।

पुलमा पूर्वाधार विकास कार्यालय ललितपुरबाट कर्मनाशा खोला, गगटे खोला, सपनतीर्थ, धोबीखोला, खानी खोला, नखु खोला पुल बनेका छन् । सोही कार्यालयको काभ्रेबाट महादेव खोला सडक, रोशी खोला सडक, बन्थली ढाँड, रोशी खोला सडक, पुन्यमता दोभान, रोशी खोला सडक माम्ती, रोशी खोला सडक कटुञ्जे र स्वाल्पा खोला सडक पुल रहेको छ ।

यसैगरी चितवन कार्यालयबाट बाँदरमुढे खोला, किरुगाखोला, आँप खोल्सी सकड, दुबुखोला सडक पुल रहेको छ । नुवाकोट कार्यालयबाट खारेखोला बडरे हिमानीटार कल्भर्ट, थोपलखोला, कुथुङ्ग खोला पुल रहेको छ ।

सिन्धुपाल्चोक कार्यालयबाट हाँडी खोला, महादेश खोला, सिपा खोला, खहरेखोला, ढाँडे खोला, सोरुङ्ग खोला, ढाँडे बाराम्चभी खोला, पाखरखोला, अँधेरी खोला र चर्नावती खोला रहेको छ । पूर्वाधार विकास कार्यालय रामेछापबाट वाक्सु खोला र भटौती खोला पुल रहेको छ ।

प्रतिक्रिया