वडाध्यक्ष प्राविधिक मिलेर भूकम्पपीडितसँग असुले चार लाख

admin

लमजुङ, साउन ८ : मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकले मिलेमतोमा भूकम्पपीडितसँग चार लाख रुपैयाँ ठ’गेको रहस्य बाहिरिएकोे छ। ​मस्र्याङदी गाउँपालिका–१ घनपोखराका आठ जना भूकम्पपीडितबाट जनही ५० हजारका दरले उनीहरुले लिएका हुन्।

मर्स्याङ्दी–१ घनपोखरामा जनप्रतिनिधिको मिलेमतोमा प्राविधिकले नै रकम असुलेको पाइएको हो। सरकारले दिएको अनुदानबाट बनाएको घर मापदण्ड अनुसारको नभएको भन्दै आफूहरूसँग रकम असुलेको पीडितहरूको गुनासो छ ।

घनपोखरका बुद्धिबहादुर गुरुङ, मनबहादुर गुरुङ, जीवन गुरुङ, हस्तबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, बांगे विक, खेमबहादुर गुरुङ र रसिराम गुरुङबाट जनही ५० हजार उनीहरुले लिएका हुन्।

भूकम्पपीडितहरू बैंकमा किस्ता लिन वडाध्यक्ष रुद्रमान गुरुङसँगै सदरमुकाम आएका र रकम असुल्ने योजना वडा अध्यक्षले नै बनाएको पीडितहरुको आरोप छ। बैंकबाट पैसा झिकेपछि वडाध्यक्षले प्राविधिकलाई भेट्नुस् भनेको र प्राविधिकले रकम मागेपछि आफूहरुले दिएको पीडितमध्येका जीवन गुरुङले बताए।

२०७२ सालको विनासकारी भूकम्पबाट घर क्षति भएपछि पूर्ण क्षतिमा परेकाले ऋण काढेर घर बनाएको तर सरकारबाट प्राप्त अनुदानमा पनि जनप्रतिनिधिसहित प्राविधिकले ठग्ने काम गरेको उनीहरुको गुनासो छ। वडाध्यक्ष गुरुङले भने प्राविधिकले रकम मागेको बारे आफूलाई थाहा नभएको बताएका छन्।

पीडितहरुले बनाएको घर मापदण्ड नपुगेपछि रकम फिर्ता गर्नुपर्छ भनेर आफूलाई पनि प्राविधिकले भनेको वडाध्यक्ष गुरुङको भनाइ छ। पीडितले आफूहरूसँग प्राविधिकले रकम असुलेको भन्दै वडाध्यक्षसहित प्राविधिक भुपेन्द्र कुमार मण्डलविरुद्ध प्रशासनमा उजुरी दिएका छन्। पीडितहरु उजुरी दिन आउने क्रममा घटना बाहिरिएपछि प्राविधिकले बाटौमै चार लाख रुपैयाँ फिर्ता गरेका थिए।

उनीहरुले पीडितहरु सदरमुकाम आउने बाटो रोकैर उजुरी नहाल्न आग्रह गर्दै रकम फिर्ता गरेका पीडितहरुले बताएका छन्। भूकम्पपछि पुनर्निर्माण गरिएका घर मापदण्ड नपुगेको र सो घर पास गराउने नाउँमा उनीहरुले रकम घुस लिएका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्राविधिकले रकम फिर्ता गरे पनि लेनदेनको काम भइसकेको भन्दै प्रशासनले प्रारम्भिक छानबिन गरी थप अनुसन्धान र कारबाहीको लागि अख्तियारमा पत्र पठाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी सबैलाई कारबाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। पीडितहरुको उजुरी परेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मण्डलसहित तीन जना प्राविधिकलाई निलम्बनसमेत गरेको छ। निलम्बनमा पर्नेमा प्राविधिकहरु राजकुमार गौतम र टीकाप्रसाद गुरुङ पनि छन्।

प्रतिक्रिया