क्रसरका कारण बीपी राजमार्ग जोखिममा, राजनीतिक पहुँचका कारण कारबाही गर्ने निकाय नै मौन

admin

काभ्रे, ९ साउन : क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण असुरक्षित बन्दै गएको स्थानीयवासीको भनाइ छ ।

पानी पर्न थालेसँगै आउने त्रसरको डस्टका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए ।

रोसी गाउँपालिका वडा नं. ८ डिप्सामा रहेको नाङ्साल क्रसर उद्योग, नमोबुद्ध नगरपालिकामा रहेको मनकामना र रोसी गाउँपालिकामा रहेको पशुपति उद्योगका कारण बढी जोखिममा परेको छ । उक्त उद्योगका कारण ढुङ्गा झर्ने तथा डस्ट पानी परेसँगै राजमार्गमा आएपछि अवरुद्ध हुने गरेको छ ।

रोसी गाउँपालिकाका अध्यक्ष डीबी लामाले पानी परेसँगै आउने क्रसरको डस्टका कारण राजमार्ग असुरक्षित भन्दै गएको बताउनुभयो । हामीले पटक÷पटक राजमार्ग र रोसी खोलालाई जोगाइदिन आग्रह गर्दै आएका छौँ तर सुनुवाइ भएन ।

राजनीतिक पहुँचका आधारमा सञ्चालित क्रसर तथा खानी उद्योगलाई कारबाही गर्ने निकाय नै मौन रहने गरेका छन् । राजमार्ग अवरुद्ध भएपछि रोसी गाउँपालिका, प्रहरी र स्थानीयले खुलाउँदै आएका छन् । हिउँदमा समेत सुक्खा पहिरो आउँदा राजमार्ग डाइभर्सन गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा मधुसुधन तिमल्सिनाले लेखेका छन् ।

प्रतिक्रिया