कतारले ‘यी मापदण्ड’ अनुसार अगष्ट १ देखि विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

admin

काठमाडौं, ९ साउन : कोरोना महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै कतारले अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ । कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो ।

नेपालमा सरकारले पुनः श्रम स्वीकृति खुल्ला गरेसँगै कतार जानका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ । साउन १ गतेदेखि बिहीबारसम्म मात्रै ३१९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । तर कतारले सार्वजनिक गरेको कम जोखिम भएका देशमा नेपाल पर्दैन ।

कतारले नेपालसहित भारत, बंगलादेश र पाकिस्तान जस्ता देशको नाम त्यो सूचीमा राखेको छैन । सूचीमा नेपाल नपर्दा पुनः श्रम स्वीकृति लिएकार जान खोज्नेहरुले थप प्रक्रिया गर्नुपर्छ । यो सूची प्रत्येक दुई हप्तामा हेरफेर गर्न सक्ने जनाएको छ ।

कतारले जारी गरेको नियम अनुसार दक्ष र अदक्ष श्रमिकसहित घरेलु कामदारलाई पनि अगष्ट १ देखि प्रवेशमा अनुमति दिइने छ । तर उनीहरुले प्रवेशका लागि अनुमति लिनु पर्छ । कतारले प्राथमिकता, सार्वजनिक स्वास्थ्यको मापदण्ड, सरकारी र अर्ध सरकारी क्षेत्रको आवश्यकता र मानवीयताको आधारमा अनुमति दिने जनाएको छ ।

निजी क्षेत्रका दक्ष र अदक्ष कामदारको क्वरेण्टीन खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्न पर्नेछ भने घरेलु कामदारको हकमा पनि अनुमति प्राप्त भए पनि क्वरेण्टीन खर्च भने रोजगारदाताले नै तिर्नु पर्छ । श्रमिकले कतार यात्रा गर्नका लागि रोजगारदातासँग समन्वय गर्नु पर्नेछ ।

कतारले सार्वजनिक गरेको कम जोखिमयुक्त देशको सूचीमा नपर्ने अर्थात नेपालबाट जानेले पनि यात्रा गर्नुभन्दा ४८ दिनअघिको कोरोना पोजेटिभ नभएको रिपोर्ट पेश गर्नुपर्छ । कतार पुगेपछि क्वरेण्टीनमा बस्नैपर्छ ।

यसरी होटल क्वरेण्टीनमा बस्दा पोजेटिभ रिजल्ट आएकाहरु आइसोलेसनमा बस्नुपर्छ भने नेगेटिभ आएमा होटल क्वरेण्टीपछि पनि एक हप्ता होम क्वरेण्टीनमा बस्नु पर्छ ।

प्रतिक्रिया