ओमानबाट बिदामा नेपाल आएकाहरु अब जान पाउने

admin

काठमाडौं, ९ साउन : ओमानबाट बिदामा नेपाल आएर र फर्कन नपाएकाहरु परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर जान पाउने भएका छन् ।

ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको छ । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनु पर्छ ।

त्यस्तै कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले अहिले नेपालमा भएका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यसैगरी, कोरोना संक्रमण बढ्दै गएपछि ओमानले फेरि लकडाउन गर्ने भएको छ । (भोलि) शनिबार जुलाई २५ देखि अगष्ट ८ शनिबारसम्म प्रमुख प्रशासकीय क्षेत्रमा पूर्ण रुपमा लकडाउन हुने ओमान सरकारको उच्चस्तरीय कमिटीले निर्णय गरेको हो ।

लकडाउन अवधि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि तोकिएको छ । यो समयमा सम्पूर्ण प्रकारका आवतजावत तथा सार्वजनिक स्थलहरु बन्द रहने छन् । व्यवसायहरू पनि बन्द हुनेछन् भने दिउँसोको समयमा पनि अनुगमन तथा चेक केन्द्रहरु सक्रिय हुनेछन् ।

ओमानमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन र ओमान सरकारले जारी गरेको नियम पालन गर्न दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया