काष्ठमण्डपमा धुरी राखियो

admin

काठमाडौं, ११ साउन : ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा रहेको काष्ठमण्डपमा धलिं अर्थात् मुख्य दलिन पूजा गरिएको छ ।

धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अङ्ग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार अर्थात् सिखंमू बहाः या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा बज्रयानी परम्पराअनुसार पूजा सम्पन्न भएको हो ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनर्निर्माणको ७० प्रतिशत काम सकिएको जानकारी दिए । विसं २०७५ बैशाखबाट पुनर्निर्माणको काम सुरु भएको हो ।

महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनर्निर्माण गरिरहेको पनि शाक्यले जानकारी दिए ।

‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ’ उनले भने,‘जुन इँटा, माटो प्रयोग भएको थियो त्यही नै प्रयोग गरिएको छ ।’

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँचरपाँच करोड रुपैयाँ दिएको छ ।

विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । अध्यक्ष शाक्यले काम समयसीमा भित्रै सम्पन्न हुने दाबी गरे ।

ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणका लागि १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।

सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको मान्यता छ ।

प्रतिक्रिया