मौसमविद् भन्छन्, मिल्न थाल्यो मौसमको भविष्यवाणी

admin

काठमाडौं, ११ साउन : पछिल्लो समय जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्छ, बाढी पहिरोको जोखिम छ, पूर्वतयारी र सावधानी अपनाउनुहोला जस्ता सूचना निकाल्दै सचेत गराउँदै आएको छ ।

विभागले निकालेको सुचनाकै आधारमा अघिल्लो हप्ता चार दिन ठूलो पानी पर्यो । केही ठाउँमा पहिरो पनि खस्यो । धनजनको क्षति गर्यो । पानी पर्छ भन्ने कुरा पहिल्यै थाहा पाएर सतर्क हुँदा धेरैले ज्यान पनि जोगाए ।

त्यसअघि असार २६ गते पनि विभागले सूचना निकालेर तीन दिन ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन अपिल गर्यो । नभन्दै तीन दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्यो । यी सूचनाले मानिसलाई सतर्क बनायो । ज्यान जोगाउन सहयोग गर्यो ।

मौसमविद्ले (भोलि) सोमबार बेलुकीदेखि पनि ठूलो पानी पर्ने बताएका छन् । मौसमविद्ले भनेलगत्तै सम्भावित बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दा सतर्क भइसकेका छन् । पाँच र सात वर्ष अघिसम्म पनि मौसमविद्ले गरेको भविष्यवाणी यसरी मेल खाँदैन थियो ।

पानी पर्छ भनेको दिन घाम लाग्थ्यो, घाम लाग्छ भनेको दिन पानी पर्दथ्यो । तर पाँच र सात वर्षयता मौसम विभागका धेरै भविष्यवाणी मिल्न थालेको छ । महाशाखालाई आधुनिक प्रविधि मार्फत मौसमको सूचना लिन चीन र जापानले सघाउँछन् । जापानको ‘हिमावारी-८’ भू-उपग्रहले बादल, त्यसको दिशा, तापक्रम, आद्र्रता र हावाको गतिसहितका तस्वीर हरेक १० मिनेटमा उपलब्ध गराउँछ ।

त्यसैगरी चीनको ‘एफवाई-टुजी’ भू-उपग्रहले मनसुनको समयमा हरेक आधा घण्टामा र अरू वेला एक घण्टामा वायुमण्डलको मौसमी अवस्था र तथ्य विवरण उपलब्ध गराउँछ । आधुनिक प्रविधिमार्फत मौसमको भविष्यवाणी गर्ने गरेको मौसमविद् बताउँछन् ।

पछिल्लो समय विकसित भूउपग्रह, रेडियोसोन्ड, राडार, लिइनेट, गणितीय विश्लेषण, चार्ट एनालाइसिस लगायतका प्रविधिको प्रयोगले भविष्यवाणी मिल्न थालेको मौसमविद्को भनाइ छ । पहिलेका तथ्याङ्कहरु तथा उच्च चापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको हिसाब गर्नुपर्ने बाध्यता थियो ।

तर अहिले मौसमविदले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गर्छन् । रेडियोसोन्ड, राडार, लिइनेट, गणितीय विश्लेषण, चार्ट एनालाइसिस लगायतका उपकरणको प्रयोगसँगै कम्प्युटरबाट भू-उपग्रहको तस्बिर वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ ।

देशका विभिन्न ठाउँमा रहेका मौसमी केन्द्रबाट हरेक तीन-तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ । यस्तै १० र १० मिनेटमा भू-उपग्रहबाट तस्बिर लिइन्छ । यसले अबको मौसम कस्तो हुन्छ भनेर जानकारी लिन थप सहज भएको मौसमविद् बताउँछन् ।

मौसमविद् भन्छन्, ‘पहिले पहिले अमेरिकी भू-उपग्रहले दिएको तस्बिर प्रिन्ट गरेर बादलको अवस्था चित्रमा हेरेर अब यो बादल कता जान्छ भनेर अनुमान गर्नुपर्ने अवस्था थियो, अहिले सजिलो भएको छ’ । मौसमविद्काअनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका विभिन्न मापदण्डका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ ।

युरोपेली र चिनियाँ भू-उपग्रहबाट प्राप्त तस्बिर पनि हेर्ने गरिएको छ । अहिले मौसम पूर्वानुमान महाशाखाले जापानिज भू-उपग्रह किनेर त्यसको प्रयोग थालेको छ । पछिल्लो समय काठमाडौं कीर्तिपुरबाट रेडिएसनले जडान गरिएको बेलुन दैनिक रुपमा उडाउने गरिएको छ ।

यो बेलुन जमिनबाट ३२ किलोमिटर माथिसम्म जान सक्छ । बेलुनमा भएको रेडिएसनले वायुमण्डलको सापेक्षिक आर्द्रता, चाप, हावाको दिशालगायतका मौसमी अवस्था मापन गर्छ । यसको जानकारी कम्प्युटर जडान भएको प्रविधिबाट लिएर मौसमविद्ले मौसम बारे थप पूर्वानुमान गर्न सक्छन् । यसले पनि मौसम पूर्वानुमान मिलाउन केही सहयोग गरेको मौसमविद् बताउँछन् ।

यस्तै सुर्खेतमा जडान गरिएको मौसमी राडारले पनि मौसमी अवस्था थाहा पाउन सहयोग गर्छ । यसले मौसमी भविष्यवाणी मिल्न मद्दत गरेको छ । यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।

यस्तो भविष्यवाणी गर्दा देशलाई साधारणतया तीन भागमा अर्थात पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा देखा पर्न सक्ने मौसमी गतिविधिलाई समेत ख्याल गरी मौसम भविष्यवाणी गरिन्छ ।

यी आधुनिक प्रविधिको प्रयोगका कारण हिजो आज मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्ले बताएका छन् । अहिले मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्ने गरेको छ ।

प्रतिक्रिया