फेरि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ : डा. गौतम

admin

काठमाडौं, ११ साउन : विश्वमाहामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का कारण नेपालमा पनि एक सय २० दिनसम्मको लकडाउन अन्त्य भएसँगै देशभर चहलपहल बढेको छ । समुदायस्तरमा कोरोना फैलिएका ठाउँबाहेक अरु सबै ठाउँमा गतिविधि बढेका छन् । तर सरकारले आवश्यक मापदण्ड नै पूरा नगरि लकडाउन हटाएको भनेर विरोध पनि हुन थालेको छ ।

अस्पतालमा भेन्टिलेटर बढाउनुपर्ने, आवश्यक जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, आवश्यक जनचेतना जगाउनुपर्ने लगायत काम नगरिकन एक्कासी लकडाउन हटाउँदा यसको दूरगामी असर देखिने हो कि भन्ने चिन्ता सबैमा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लकडाउन नियन्त्रित तरिकाले खुलेको नियमित पत्रकार सम्मेलनमार्फत् पनि बताउँदै आएका छन् ।

डा. गौतमले एक अनलाइन पत्रिकासँग कुरा गर्दै भनेका छन्, ‘लकडाउन खुले पनि सभा, सम्मेलन र जमघट गर्न पाइँदैन । स्कुल कलेज खुलेका छैनन् । भिडभाड नगर्ने, भौतिक दुरी दुई मिटरको कायम गर्ने, आवश्यक नपरि घरबाट बाहिर ननिस्कने, अनिवार्य मास्क लगाउने, हात राम्रोसँग धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायत मापदण्ड अपनाएर काम गर्दै जाने हो । हामीले केही समयको लागि मात्रै लकडाउन खुलाएका हौँ । यसको हामी नतिजा हेर्छौँ । नतिजा के आउँछ, हामी सुक्ष्म तरिकाले अध्ययन गरिरहेका छौँ । यदि संक्रमण बढ्न थाल्यो भने फेरि लकडाउन गर्ने अवस्था पनि आउन सक्छ । त्यसैले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गरौँ । सबै मान्छे कोरोना पोजेटिभ छन्, म एक जना मात्रै कोरोना नेगेटिभ हो, उनीहरुबाट आफू बच्नुपर्छ भन्ने किसिमले धारणा बनाएर बाहिर निस्कनुपर्छ ।’

उनले नेपालका केही जिल्लामा अलि धेरै संक्रमण भइरहेको, यसो भन्दैमा सबै ठाउँमा सधैँभरि लकडाउन गरेर पनि सम्भव नहुने बताए । उनले भने, ‘हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्‍यौँ भने लकडाउन धेरै गर्नु नै पर्दैन । कोरोनामा मात्रै अल्झिएर पनि हुँदैन । कोरोनाभन्दा अरु रोगको पनि उपचार गर्नुपर्छ हामीले ।’

कोरोनाका कारणले भन्दा भोकमरीले मान्छे धेरै मर्न थालेको भन्ने कुरा पनि आउन थालेका छन् । यसै क्रममा उनले भने ‘राज्यले यो सबै कुराको अध्ययन गरेर मात्रै काम गरेको छ । लकडाउन सधैँभरि गर्न सकिँदैन । तर समस्या पर्‍यो भने फेरि पनि गर्न सकिन्छ । दैनिक जीवनयापन सहज हुनुपर्‍यो, आर्थिक क्रियाकलाप सहज हुनुपर्‍यो, राज्य पनि चल्नुपर्‍यो, सबैले काम गर्न पाउनुपर्‍यो । त्यो खालको वातावरण बनाउनकै लागि भनेर तत्कालका लागि लकडाउन हटाइएको हो ।’

उनले दैनिक १५ हजार मानिसमा पीसीआर विधिबाट परीक्षण गर्न सक्ने आवश्यक जनशक्ति पनि व्यवस्थापन गरेको, आवश्यक पर्दा परीक्षण गरिहाल्ने बताएका छन् । ‘भारतबाट २५ हजार मान्छे आउँदा अलि प्रेसर थियो तर अहिले दिनमा जम्मा १२ सय मात्रै आइरहेका छन् । अनि १२ सय मान्छेलाई १५ हजार टेस्ट कसरी गर्ने हो र ? परीक्षण गर्ने मान्छे नै छैन, अनि जो पायो त्यहीलाई परीक्षण गर्दै हिँड्ने कुरा त आउँदैन नि, आउँछ र ? ‘

‘त्यसैले अब हामी भिडभाड भएको ठाउँहरु जस्तै पसल, अस्पतालहरुबाट हामी परीक्षण बढाउँदै लैजान्छौँ । सेवा सुविधा भएपछि त परीक्षण गर्ने कुरा ठूलो कुरा भएन नि । हामी जहिले आवश्यक पर्छ, त्यही समयका लागि परीक्षण गर्न तयार भएर बसेका छौँ, उनले भने ।’

अबको चार महिनामा संक्रमित कति बढ्छ वा बढ्दैन भनि हेरेर त्यसैको आधारमा अरु रणनीति हामी तय गर्ने उनी बताउँछन् । उनले सरकारले गर्न सक्ने र गर्नुपर्ने सबै तयारी पूरा गरेर नै लकडाउन हटाएको, आवश्यक पूर्वाधार सबै व्यवस्था भएको बताए ।

प्रतिक्रिया